भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित



काठमाडौं । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संधोधन गर्ने विधेयक २०८२ प्रतिनिधिसभाबाट पारित भएको छ । शुक्रबार बसेको सभाको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संधोधन गर्ने विधेयक २०८२ पारित गरियास्’ भन्ने प्रस्ताव सभामा प्रस्तुत गरेका थिए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारले विधेयकमा सांसदहरूका ७० प्रतिशत संशोधन समेटिएको बताए । “अहिलेसम्म आएका विधेयकमा सबै माननीयले राखेको ७० प्रतिशत संशोधन परेको छ,” उनले भने, “विधेयकमै नराखिएको कुरा राखेन भन्न त मिलेन नि ।”

अधिकारीले विधेयक सुकुम्बासी, अव्यवस्थितलाई जग्गा दिन ल्याइएको बताए । “जनताका समस्या समाधानका निम्ति ल्याइएको हो । विगतमा नमिलेका ऐन कानुनलाई सुधार गरेर भूमिहीन दलित, सुकुम्बासी, अव्यवस्थितलाई जग्गा दिनका निम्ति ल्याइएको हो । सधैँभरी जग्गा बाँड्ने कुराको अन्त्यका लागि ल्याइएको हो,” उनले भने ।

सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको थियो । तर, राष्ट्रियसभामा बहुमत नपुग्ने भएपछि उही प्रावधानसहित विधेयक ०८२ वैशाख २३ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । कृषि समितिले ०८२ भदौ ५ गते पारित गरी प्रतिनिधिसभा पठाएको थियो । विवादले घेरिएको विधेयक सत्तारूढ नेपाली कांग्रेसका सांसदहरूको संशोधन समेटिएपछि समितिबाट पास गरिएको थियो ।

प्रतिपक्षी दलका सांसदको नगन्य उपस्थितिबिच सभामा तत्काल उपस्थित सांसदको बहुमतले (ध्वनीमतद्वारा) विधेयक पारित गरेको हो ।

प्रतनिधिसभाको अर्को बैठक अब भदौ १८ गते बुधबार दिउँसो १ बजे बस्ने छ ।