रवि भेट्न नक्खु कारागार पुगे रास्वपाका नौ आकांक्षी उम्मेदवार

रवि भेट्न नक्खु कारागार पुगे रास्वपाका नौ आकांक्षी उम्मेदवार



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रूपन्देही–३ का आकांक्षी नौ उम्मेदवार पार्टी सभापति रवि लामिछानेलाई भेट्न नक्खु कारागार पुगेका छन् । पार्टी सभापति लामिछानेलाई भेट्न उनीहरू आज ललितपुरको नक्खु कारागार पुगेका हुन् ।

आउँदो कात्तिक १७ गते हुने रूपन्देही–३ मा उपनिर्वाचन हुँदै छ । जसका लागि रास्वपाबा नौजना आकांक्षी छन् । उनीहरूमध्येबाट एक जनालाई रास्वपाले आजै उम्मेदवार घोषणा गर्दै छ ।

रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने मुद्दा पुर्पक्षका निम्ति थुनामा छन् । भैरहवा कारागारमा रहेका उनलाई केही समयअघि मात्रै नख्खु सारिएको थियो ।

रास्वपाले ७ देखि २१ साउनसम्म उम्मेदवार बन्न आवदेन माग गरेकोमा ९ जना छनोट भएका थिए ।

छनोट भएका आकांक्षीहरुमा पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, रुपन्देही-३ का क्षेत्रीय सभापति मधु अर्याल, अमेरिकाबाट हालै मात्र फर्किएका बुटवल सेमलारका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, कोटहीमाईका जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल छन् । कुसुम, मधु, सुलभ र जितबहादुरबाहेक ५ जना भैरहवाका हुन् ।