धरानमा एमालेकाे बहिष्कारपछि हर्क साम्पाङले अल्पमतबाटै गरे बजेट पारितको घोषणा

धरानमा एमालेकाे बहिष्कारपछि हर्क साम्पाङले अल्पमतबाटै गरे बजेट पारितको घोषणा



विराटनगर । धरान उप महानगरपालिकाको बजेट एमालेको बहिष्कारबीच कार्यपालिकामा अल्पमतबाट अनुमोदन भएको दाबी गरिएको छ ।

आन्तरिक किचलोले धरानको बजेट ल्याउन २ महिना ढिला भइसकेको छ । धरान कार्यपालिकामा एमालेको बहुमत छ ।

आइतबार मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्रविक्रम बेघा, कांग्रेस, माओवादी र राप्रपाका जनप्रतिनिधि एकठाउँ उभिएर बजेट अनुमोदन गरेको घोषणा गरे । गएको शुक्रबार कार्यपालिका बैठकमा सहमति जुटेन ।

बैठकमा एमाले नगर कार्यदलका प्रमुख सचेतक अनुप देवान र धरान १० का वडाध्यक्ष विवेक राईले बजेट पुनर्लेखन गरेर पेस गर्नुपर्ने मागसहित ५ बुँदे जानकारी पत्र दिएर बैठक बहिस्कार गरेका थिए ।

१५ जना कार्यपालिका सदस्य बैठक बहिष्कार गरेर छाडेर हिँडेको र बजेट अनुमोदन गरेको मेयर साम्पाङको दाबी छ ।

धरानको कार्यपालिकामा बहुमत रहेको एमालेले बैठक बहिष्कार गरेपछि अल्पमत सदस्यको उपस्थितिमा बजेट पारित भएको घोषणा भएको हो । मेयर, उपमेयर र वडाध्यक्ष गरी ११ जनाको उपस्थितिमा बजेट अनुमोदनको एकतर्फी निर्णय गरिएको हो ।

एमालेले ५ बुदे पत्रमा घाटा बजेट स्वीकार गर्न नसक्ने, करको दर अत्यधिक वृद्धि गरिएको, राजश्व परामर्श समितिले दिएको राय विपरीत आफूखुसी करको दर बढाइएको भन्दै विरोध गरेको छ ।

राजश्व परामर्श समितिले १ अर्ब ६० करोड सीमा दिए पनि स्रोत अनुमान र सिलिङ समितिले २ अर्ब २० करोडको बजेट प्रस्ताव गरेको एमालेको भनाइ छ ।

एमालेले मेयर, उपमेयर कोष र मेयर उपमेयर भिजन कोष , कार्यपालिका सदस्यको कोष जस्ता अबण्डा कोषहरू खारेज गर्न पनि माग गरेको छ ।