काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही–३ का लागि छनोट गरेका उमेदवार डा. लेखजंग थापाको पत्रकार सम्मेलन स्थगित गरेको छ । थापा बहुविवाह विवादमा तानिएपछि रास्वपाले उनलाई राखेर गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरेको हो ।
आज दिउँसो २ बजेका लागि तय गरिएको पत्रकार सम्मेलन रास्वपा प्रवक्ता मनिष झाका अनुसार विशेष कारणवश कार्यक्रम अर्को समयका लागि सारिएको छ ।
रूपन्देही ३ मा रास्वपाबाट ९ जना उम्मेदवार आकांक्षी थिए । आइतबार सचिवालय बैठकबाट थापालाई उमेदवार बनाउने निर्णय गरेको थियो । तर, उनलाई उमेदवार बनाउने घोषणापछि थापाले दुई विवाह गरेको विषय बाहिरिएको थियो ।
थापामाथि पार्टीको आन्तरिक छलफलमा क्यामेरा जडित चस्माबाट भिडियो गरेको आरोप पनि लागेको छ ।
लेखजंगलाई नजिकबाट चिन्ने कतिपय डाक्टरहरूले उनी दुवै श्रीमतीसँग बस्दै आएको बताएका छन् । उनको सम्बन्ध विच्छेद पनि नभएको ती डाक्टरहरूले दाबी गरेका छन् ।
लेखजंगका श्रीमतीहरू सुलोचना घिमिरे (पहिलो) र नुमा शर्मा (दोस्रो) ले सामाजिक सञ्जालहरूमा राखेका फोटा र भिडिओमा पनि उनीहरू तीनै जना सँगै देखिन्छन् ।
रूपन्देही ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।


प्रतिक्रिया