विद्या भण्डारीको सदस्यता रोक्न मिल्दैन : सुरेन्द्र पाण्डे

विद्या भण्डारीको सदस्यता रोक्न मिल्दैन : सुरेन्द्र पाण्डे

‘यो लडाइँ केही तीतो बन्नसक्छ, केही समय लिनसक्छ । केही अप्ठ्यारो अवस्था आउनसक्छ । तर, निष्कर्षमा पुग्छ भन्नेमा नै छौँ’



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे आफूहरूको फरक मत अपानीमा समावेश नभएपछि पार्टीको छलफलको विषय बनाउन माग गरेर निवेदन दिएको बताएका छन् ।

सेन्टर फर पब्लिक पोलिसि रिसर्चद्वारा राजधानीमा आयोजित ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तरसंवादमा उनले विधान महाधिवेशनमा यो विषय छलफलमा लाने बताए ।

उनले भने, ‘विधान महाधिवेशनमा आउने प्रस्तावहरूमा पनि विमतिलाई समेटेर नगए फरक मत लेख्ने कुरा गरेका छौँ, राख्छौँ । कोही व्यक्तिलाई पार्टीमा काम गर्नको लागि संविधानले निषेध गरेको छैन ।’

उनले कोही व्यक्ति पार्टी सदस्य हुँदैमा अध्यक्ष नहुने, सदस्य हुन कसैलाई रोक्न नमिल्ने भन्दै विधान महाधिवेशनमा कुरा उठ्ने बताए ।

पाण्डेले आफूहरूले पार्टीमा चलाएको सार्थक बहसलाई पार्टी फुटाउन गरेको भन्दै हल्ला चलाइएको भन्दै यसले विभाजित नहुने प्रष्ट्याए ।

उनले थपे, ‘यो लडाइँ केही तीतो बन्नसक्छ, केही समय लिनसक्छ । केही अप्ठ्यारो अवस्था आउनसक्छ । तर, निष्कर्षमा पुग्छ भन्नेमा नै छौँ । हामी पार्टीमा स्थापित मूल्य र मान्यताभित्र बसेर यो बहसलाई निष्कर्षमा पुर्‍याउँछौं ।’

उपाध्यक्ष पाण्डेले उमेर हद हटाउने विषय प्राविधिक भए पनि २ कार्यकारी पदमा कार्यकालको व्यवस्था उपयुक्त हुने बताएका छन् । उनले गत विधान महाधिवेशनबाट २ कार्यकाल र उमेर हदको व्यवस्था गरिए पनि उमेर हदको व्यवस्था बिचमा निलम्बन गरिएको बताए ।

उनले पछिल्लो समय दुई कार्यकालको व्यवस्था ठिक कि बेठिक भनेर पार्टीमा बहस चलिरहेको र यही भदौ २० देखि २२ सम्म हुने विधान महाधिवेशनले त्यसको छिनोफानो गर्ने बताए ।

‘यो बहसमा बहुमत विधान महाधिवेशन प्रतिनिधिले जे निर्णय गर्छन्, त्यही व्यवस्था रहन्छ’, पाण्डेले भने– ‘तर बहुमतले सधैँ सहि निर्णय नगर्न सक्छ’ उनले आज नगरे पनि भोलि यो पद्धति विकास हुने भन्दै विगतमा पनि त्यही भएको बताए । उनले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको मर्म र भावना पनि प्रतिस्पर्धा नै भएको बताए ।

उनले अन्तर्राष्ट्रिय अभ्यासलाई मध्यनजर गरेर नै मदन भण्डारीले बहुदलीय प्रतिस्पर्धाको बाटोबाट जानुपर्छ भनेर चौथो महाधिवेशन हुँदै पार्टीमा लोकतान्त्रिकरणको प्रक्रिया सुरु गरेको बताए ।

पछिल्लो समय नेकपा एमाले प्रतिस्पर्धाको कारणबाट पार्टी विभाजित भएको भन्ने भ्रममा सत्यता नभएको पाण्डेको भनाइ छ ।