नुवाकोट । नुवाकोटको बेलकोटगढी–१३ र लिखु–०३ जोड्ने सिन्धुरे खोलाको मोटरेबल पुल तोकिएको समयभन्दा करिब ५ महिना अगावै सम्पन्न भएको छ।
पुल निर्माणको जिम्मा पाएको जय विष्णु निर्माण सेवा प्रालिले निर्धारित म्यादभन्दा अघि काम सम्पन्न गरी स्थानीय जनताको सेवा गरेको भन्दै प्रशंसा पाएको हो। कम्पनीका प्रबन्ध निर्देशक अनिल सिलवाल ले आफ्नो गाउँमा समयभन्दा अघि पुल निर्माण गरेर स्थानीयको सुविधा बढाउन पाउँदा खुसी लागेको बताए। उनले भने, “यहाँका जनताको सेवा गर्न पाएकोमा हामी गर्वित छौँ, यो काम पूरा गर्न दिनरात नभनी जुट्यौँ।”
यो पुल निर्माणले बेलकोटगढी र लिखु गाउँपालिकाका बासिन्दाको आवागमनमा सहजता ल्याउने अपेक्षा गरिएको छ। पुल निर्माण लागत करिब ८ करोड ४६ लाख ६२ हजार रुपैयाँ रहेको छ। पूर्वाधार विकास कार्यालय नुवाकोटका अनुसार, पुलको लम्बाइ ४१.४ मिटर र चौडाइ ८.४ मिटर छ।
निर्माण सम्पन्न गर्ने लक्ष्य २०८२ साल असोज २० गतेका लागि तोकिए पनि पुल यस वर्षै जेठ महिनामा सम्पन्न भएको हो।


प्रतिक्रिया