काठमाडौं । राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । यसअघि सोमबार पनि सो प्रतिवेदन पेस गर्ने कार्यसूची तय भए पनि समितिमा छलफल नसकिएकाले प्रस्तुत हुन सकेको थिएन ।
त्यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
यससँगै, आजै दुई संसदीय समितिको बैठकसमेत बस्दै छ । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा हालसम्मको कामकारबाहीको समीक्षा हुने छ भने विधायन व्यवस्थापन समितिमा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदन’ सम्बन्धी छलफल हुने कार्यसूची रहेको छ ।


प्रतिक्रिया