सर्वोच्चले माग्यो ओली प्रधानमन्त्री हुँदा समर्थन गर्ने दलको विवरण

सर्वोच्चले माग्यो ओली प्रधानमन्त्री हुँदा समर्थन गर्ने दलको विवरण



काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली नियुक्त हुँदा र विश्वास मत लिँदा समर्थन गर्ने दलको विवरण मागेको छ ।

मंगलबार न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले २०८१ असार २८ गतेदेखि साउन ६ गतेसम्म नेकपा (एमाले) का अध्यक्ष समेत रहेका ओलीलाई समर्थन गर्ने दलको विवरण माग गरेको हो ।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत वर्ष असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत गुमाएका थिए ।

त्यसपछि एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ असार ३० गते ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

त्यस्तै ओलीले साउन ६ गते प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरेका थिए ।

विश्वासको मत माग गर्दा नेपाली कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी लगायतले समर्थन गरेका थिए ।

निवेदक वीरेन्द्र केसीले प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सभामुख देवराज घिमिरे, संघीय संसद सचिवालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।