काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीबारे केन्द्रीय कमिटी बैठकमा आएका फरक मत विधान महाधिवेशनमा छलफल गर्ने कि राष्ट्रिय महाधिवेशनमा गर्ने भन्नेबारे सचिवालय बैठकले टुङ्ग्याउने बताएका छन् ।
उनले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले राखेको फरक मत दस्तावेजमाथिको असहमति नभएको समेत बताएका छन् ।
पछिल्लो केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षद्वय पाण्डे र ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारेको निर्णयमा असहमति जनाउँदै फरक मत राखेका थिए ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता खोसिएको नभई परित्याग गरेको विषय भएको उल्लेख गर्दै परित्याग गरेको विषयमा पूर्वराष्ट्रपति र उपराष्ट्रपतिको हकमा गरेको फैसलामा पार्टी कायमै रहेको स्पष्ट पारे ।
विधान महाधिवेशनको सबै तयारी पूरा
एमालेले भाद्र २० गतेदेखि सुरु हुने विधान महाधिवेशनको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
पत्रकार सम्मेलन गर्दै एमालेले ललितपुरको गोदावरीस्थित सनराइज हलमा भाद्र २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
विधान महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरि कूल २ हजार ३ सय ४१ जनाको सहभागीता रहने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य भन्ने मूल नाराका साथ आयोजना गरिएको विधान महाधिवेशनको भाद्र २० गते ११ बजे एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको गौतले बताए ।
अधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गर्ने तय भएको छ । त्यस्तै बिभिन्न आयोगका संयोजकहरुले आफ्नो प्रतिवेदन पेश गर्ने र प्रतिवेदनमाथि समूहगत छलफल गरिने प्रचार बिभाग प्रमुख गौतमले बताए ।


प्रतिक्रिया