भारत भ्रमणमा पनि प्रधानमन्त्री ओली कडा रुपमा प्रस्तुत हुने परराष्ट्र सचिव राईको दाबी

भारत भ्रमणमा पनि प्रधानमन्त्री ओली कडा रुपमा प्रस्तुत हुने परराष्ट्र सचिव राईको दाबी


ग्लोब नेपाल
189
Shares

काठमाडौं । सरकारले त्रिदेशीय भूमिमा लिपुलेक भएर भारत र चीनले व्यापारिक नाका सञ्चालन गर्न लागेको विषयमा प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा पनि आपत्ति जनाउने तयारी गरेका छन् । ओली चीन भ्रमणबाट बुधबार राति स्वदेश फर्किएका छन् ।

उनी यही महिनाको अन्तिममा भारत भ्रमणमा जाँदैछन् । चीन भ्रमणका क्रममा ओलीले राष्ट्रपति सी जिनफिङलाई भेटेका थिए । त्यस क्रममा उनले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएको भन्दै चीन र भारतले गरेको व्यापारिक सम्झौताप्रति आपत्ति जनाएको परराष्ट्रसचिव अमृतबहादुर राईले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा परराष्ट्रसचिव राईले ओलीको चीन भ्रमण सफल भएको बताए । चिनियाँ राष्ट्रपति सीले एक चीन नीतिप्रतिको नेपालको प्रतिबद्धताको प्रशंसा गरेको उल्लेख गरे । सञ्चारकर्मीले लिपुलेकबारे चिनियाँ नेतृत्वसँग जस्तै भारत भ्रमणका क्रममा पनि ओलीले धारणा राख्लान् त भन्ने प्रश्न सोधेका थिए ।

जवाफमा राईले त्यही शैलीमा सरकार प्रस्तुत हुने बताए । उनले नेपाल सधैं आफ्नो प्राथमिकतामा स्पष्ट रहेको उल्लेख गरे । ‘नेपालले जहिल्यै पनि प्राथमिकता र अडान सधैं तयारीका साथ राखेको हुन्छ’ परराष्ट्रसचिव राईले भने ‘हामी सधैँ आफ्नो परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमा आफ्नो नीति अनुसार अघि बढ्छौं ।’