काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका पूर्वसभापति रामहरि खतिवडाले आफूलाई पार्टीले न्याय गरेको बताएका छन् । संसदीय सुनवाइ समितिको सभापतिमा उम्मेदवार मनोनय गरेपछि खतिवडाले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘म दोषी नभएकाले पार्टीले सम्मान गरेको हो ।’
‘कुलिङ अफ पिरियड’मा भएको छलछाम अनुसन्धान गर्न बनेको संसदीय समितिको प्रतिवेदन आएपछि खतिवडाले नैतिक जिम्मेवार महसुस गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट खतिवडाले साउन २८ गते राजीनामा दिएका थिए ।
खतिवडाले भने, ‘आफ्नो गल्ती नहुँदा पनि समितिको सभापतिबाट राजीनामा दिनुपरेपछि मलाईभन्दा बढी पार्टी सभापति शेरबहादुर देउवालाई खल्लो महसुस भएछ । उहाँले नै पुनः राज्य व्यवस्था समिति सभापतिमा फर्किन आग्रह गर्नुभएको थियो, मैले मानिन् । सभापतिलाई त्यसबाहेक पार्टीले दिएको जुनसुकै जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न म तयार छु भनेको थिएँ ।’
निजामति ऐनमा दुई वर्ष ‘कुलिङ अफ पिरियड’को व्यवस्था राख्नुपर्छ भन्ने अडान लिएका खतिवडालाई षड्यन्त्रमूलक ढंगबाट दोषी देखाउने प्रयास भएको थियो । यी सबै कुरा बुझेर राज्य व्यस्था समितिको सभापति पदबाट खतिवडाले राजीनामा दिएका थिए ।
खतिवडा षड्यन्त्रको कोपभाजनमा परेका हुन् भन्ने कुरा नेपाली कांग्रेसका नेताहरुलाई जानकारी थियो । उनलाई पार्टीले न्याय गर्नुपर्छ भन्नेमा पार्टी नेतृत्वमा रहेका नेताहरु एकमत थिए । षड्यन्त्रको पर्दाफास गर्दै देश र जनताको पक्षमा काम गर्ने खतिवडाको उत्साहलाई ‘डिमोरलाइज’ गर्नुहुँदैन भन्ने कुरामा पार्टी स्पष्ट थियो ।
देउवा निवास बुढानिलकण्ठमा भएको पदाधिकारी बैठकमा सभापति देउवाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका रामहरि खतिवडालाई अन्याय भएको छ, उसलाई पनि समेट्नुपर्छ भनेका थिए । सभापति देउवाको भनाईपछि उपसभापति खड्काले संसदीय सुनवाइ समितिको सभापति वा मुख्य सचेतकमध्ये एउटा जिम्मेवारी खतिवडालाई दिने प्रस्ताव गरेका थिए ।
उपसभापति खड्काको प्रस्तावलाई समर्थन गर्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले खतिवडालाई मुख्य सचेतक बनाउन उपयुक्त हुने बताएका थिए । कांग्रेस मुख्य सचेतक श्याम घिमिरेलाई राजीनामा गर्न लगाएर रिक्त रहेको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनाउने र खतिवडालाई मुख्य सचेतक बनाउने विषयमा छलफल भएको थियो ।
त्यसैगरी अर्को विकल्पमा खतिवडालाई संसदीय सुनवाई समितिको सभापति बनाउने विषयमा पनि छलफल भएको थियो । यद्यपि, पदाधिकारी बैठक निर्णयमा भने पुगेको थिएन । कुन जिम्मेवारी रोज्ने भन्ने जिम्मा खतिवडालाई नै दिने बैठकमा सहमति भएको थियो ।
बैठकपछि रामहरि खतिवडाबारे सोधिएको एक प्रसँगमा महामन्त्री थापाले भने, ‘व्यक्ति यो वा त्यो भनेर हुँदैन, दिएको जिम्मेवारी इमान्दारपूर्वक पूरा गर्नेलाई पार्टीले जहिले सम्झिनुपर्छ । त्यसैले खतिवडालाई कुनै न कुनै जिम्मेवारी दिन पार्टी एकमत भएको हो ।’
खतिवडाले गरेको मेहेनत र इमान्दारीतालाई हेरेर कांग्रेस यतिबेला उनलाई जुनसुकै जिम्मेवारी दिन पनि तयार छ । कोही एक व्यक्तिको नाममा कांग्रेसले एक ढिक्का भएर निर्णय गरेको विरलै पाइन्छ । तर, खतिवडाको सन्दर्भमा भने पार्टीमा कुनै दुईमत देखिएन । यो नै खतिवडाले पार्टीबाट पाएको न्याय हो ।
संसदीय सुनवाइ समितिको सदस्यमा सर्वसम्मत निर्वाचित भएपछि ग्लोब नेपालले तपाईँ अब संसदीय सुनुवाइ समितिको सभापति बन्न लाग्नु भएको हो ? भनेर सोधेको प्रश्नको जवाफ दिँदै खतिवडाले भने, ‘म कांग्रेसको इमान्दार सिपाही हुँ, पार्टीले जे जिम्मेवारी तोक्छ, इमान्दार र कर्तव्यनिष्ठ भएर त्यो पूरा गर्न तयार छु ।’
खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा कांग्रेसकी इश्वरी न्यौपाने निर्विरोध निर्वाचित भएकी थिइन् । पार्टीको निर्णय अनुसार संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएर न्यौपानेले राज्य व्यवस्था समितिमा उम्मेदवारी दिएकी थिइन् ।
आज संसदीय सुनुवाइ समितिको सभापति पदमा उम्मेदवारी दर्ता गरेपछि ग्लोब नेपालले सोधेको प्रश्नमा सांसद खतिवडाले भने, ‘नेपाली कांग्रेसको अनुशासित सिपाही हुँ, पार्टीले दिएको जुनसुकै जिम्मेवारी पूरा गर्न तयार छु । हाल पार्टीले संसदीय सुनुवाई समितिको जिम्मेवारीमा पठाएको छ, त्यहाँ देश, पार्टी र जनताको शिर उच्चो हुने काम मबाट हुनेछ । भोलि अर्को जिम्मेवारीमा पार्टीले पठायो भने पनि म तयार छु ।’
संसदीय सुनवाइ समितिमा खतिवडाको एक मात्र उम्मेदवारी परेको छ । नेकपा एमालेले कांग्रेस उम्मेदवार खतिवडालाई नै समर्थन गरेको छ । विपक्षी दलहरूको बहुमत नभएकोले सुनुवाइ समितिको सभापतिमा खतिवडा निर्विरोध निर्वाचित हुने निश्चित छ । प्रकृया पूरा भएपछि औपचारिक रुपमा उनलाई शुक्रबार सभापति घोषणा गरिनेछ ।


प्रतिक्रिया