प्रचण्डलाई म्याजिक नम्बर छ भन्ने भ्रमबाट मुक्त गराइदियौं : प्रधानमन्त्री ओली

प्रचण्डलाई म्याजिक नम्बर छ भन्ने भ्रमबाट मुक्त गराइदियौं : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूसँग म्याजिक नम्बर रहेको भ्रम पर्न थालेपछि एमाले मुक्ति गरिएको बताएका छन् ।

पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै कांग्रेससँग आफूहरूले सहकार्य थालेपछि अस्थिरता र अराजकता नियन्त्रणमा आएको बताए ।

उनले भने, ‘हामी ब्याक बेञ्चरजस्तो पछाडि बस्नुपर्ने अवस्था, नेपाली राजनीतिमा सहयोगीभन्दा माथि होइन भन्ने अवस्था, भन्दै खेरी भनिएको थियो, कांग्रेस एमालेको अगाडि हामीलाई समर्थन गर्नुको विकल्प छैन । कि एउटा समर्थन गर्छ कि अर्काले । भ्रम परेको थियो, आफूमा जादुमयी शक्ति छ भन्नेमा । भ्रम पर्न थालेको थियो आफ्नो संख्या म्याजिक नम्बर हो भन्ने १४ महिना अघिसम्म, त्यो अवस्था एमालेले चिरेको छ ।’

उनले पार्टीले समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य बनाएर अघि बढेको बताए । उनले देशलाई समृद्धि बनाउनेभन्दा ठुलो गन्तव्य अरू केही नभएको बताए ।

अध्यक्ष ओलीले नेपालको सुरक्षा, प्रशासन र जलस्रोतका कतिपय पक्षमा वाह्य शक्ति राष्ट्रहरूले ‘सूक्ष्म व्यवस्थापन (माइक्रो म्यानेजमेण्ट)’ को हदसम्म प्रयास गरेको टिप्पणीसहितको राजनीतिक प्रतिवेदन विधान अधिवेशनमा ल्याएका छन् ।

महाधिवेशनमा उनले पेश गर्ने राजनीतिक प्रस्तावमा राष्ट्रवादको व्याख्या गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले ‘कतिपय असमान–अपमानजनक सन्धि यथावत रहँदा नेपालको सार्वभौमसत्तामा आँच पुगिरहेको र ‘राज्य कमजोर भएको बेला मुलुकको राजनीतिमा वाह्य चासो र हस्तक्षेप हुने गरेको’ निष्कर्ष निकालेका छन् ।

‘नेपालको सुरक्षा, प्रशासन र जलस्रोतका कतिपय पक्षमा बाह्य शक्ति राष्ट्रहरूले “सूक्ष्म व्यवस्थापन (माइक्रो म्यानेजमेन्ट)’ को हदसम्म प्रयास पनि गरेको देखिन्छ’ अध्यक्ष ओलीले भनेका छन्, ‘त्यसैले नेपाललाई स्वतन्त्र, सार्वभौम र आत्मनिर्णयको अधिकारले युक्त राष्ट्रको रूपमा विश्लेषण गरिरहँदा हामीले राष्ट्रिय स्वाधीनताका यी विषयहरूमा स्पष्ट, सजग हुँदै राष्ट्रिय सार्वभौमसत्ता बलियो बनाउने अभियानलाई निरन्तरता दिनुपर्छ ।’

उनले राष्ट्रवादको पनि बदलिँदो परिस्थिति अनुरूप थप व्याख्या गर्नुको आवश्यकता औंल्याएका छन् ।