दिगो विकासका लागि सबैलाई समेट्न आवश्यक छ : पूर्वराष्ट्रपति यादव

दिगो विकासका लागि सबैलाई समेट्न आवश्यक छ : पूर्वराष्ट्रपति यादव


ग्लोब नेपाल
0
Shares

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले दिगो विकासलाई केवल आर्थिक वा भौतिक दृष्टिले मात्र सीमित नगरी शिक्षा, समाज र प्रविधिसहित सबै क्षेत्रमा समान महत्वका साथ अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

यहाँ आज आयोजित दिगो विकासका लागि अन्तरविषयक अध्ययन विषयक अन्तर्राष्ट्रिय गोष्ठीमा पूर्वराष्ट्रपति डा. यादवले समाजकल्याण र सामाजिक न्यायमा समर्पित परिवर्तनकारी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै युवालाई जिम्मेवार र दूरदर्शी नेतृत्वकर्ता बन्न आग्रह गरे ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत वाग्लेले अन्तरविषयक अध्ययनले विद्यार्थीमा बहुआयामिक सोच, नवप्रवर्तन र समुदायसँग सशक्त सम्बन्ध विकास गर्ने अवसर प्रदान गर्ने बताए ।

कार्यक्रमका अध्यक्ष बद्रीदेव पाँडेले यस्ता अन्तरराष्ट्रिय सेमिनारले युवालाई परिवर्तनकारी नेतृत्वको बाटोमा अघि बढ्न प्रेरित गर्ने बताए ।

नेशनल कलेजका प्रिन्सिपल माधव न्यौपानेले सेमिनारमा दिगो विकासका तीन महत्त्वपूर्ण आयाम–अन्तर विषयक दृष्टिकोण, शैक्षिक–समुदाय सम्बन्ध र दिगोपनका लागि डिजिटल विषयमा गहन छलफल भएको जानकारी दिए ।

कार्यक्रममा विभिन्न शैक्षिक संस्था, अनुसन्धानकर्ता, विद्यार्थी र समाजसेवीको सहभागिता थियो। सहभागीबीच दिगो विकास, सामाजिक जिम्मेवारी र भविष्यका चुनौतीबारे छलफल भएको थियो ।