काठमाडौं । नेकपा एमालेको जारी विधान महाधिवेशनको दोस्रो दिन आज थप तीन प्रतिवेदन पेस हुने भएका छन् । निर्वाचन आयोग, लेखा र अनुशासनको आयोगका प्रतिवेदन आज पेस हुने बताइएको छ ।
स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको फरक मत भने पहिलो दिन नै पेस हुने कार्यसूची भए पनि पेस हुन सकेन । पहिलो दिन उद्घाटनसँगै चार वटा प्रतिवेदन मात्र पेस भएका छन् ।
जसमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शङ्कर पोखरेलको सांगठानिक र सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराको प्रतिवदन पेस भएका हुन् ।
उपाध्यक्ष पौडेलले पेस गरेको संशोधन प्रस्तावमा १५ जना पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या दुई सय ५१ को हुने व्यवस्थालाई अघि सारिएको छ । प्रस्तावित संशोधन विधानलाई यसअघि केन्द्रीय कमिटीले पारित गरिसकेको छ । प्रस्तावमा वरिष्ठ उपाध्यक्षको व्यवस्थालाई हटाइएको छ भने ६ उपाध्यक्षको सङ्ख्यालार्ई घटाएर तीनमा झारिएको छ ।
एमालेले आफ्ना सातवटा केन्द्रीय निकाय बढाएर आठ पुर्याएको छ । विधान संशोधन प्रस्तावमा केन्द्रीय निकायका रूपमा राष्ट्रिय महाधिवेशन, नीति अधिवेशन, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्, केन्द्रीय कमिटी, केन्द्रीय अनुसाशन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद्लाई राखिएको छ ।
पोलिटब्यूरो र स्थायी कमिटीलाई पनि केन्द्रीय कमिटीमातहत राख्ने गरी संशोधन प्रस्ताव अघि सारेको छ । विधान संशोधनको प्रस्तावमा पार्टी अध्यक्षको अधिकार थप गरिएको छभने वरिष्ठ नेताको व्यवस्थालाई हटाइएको छ । यसअघि पार्टीको शक्तिशाली निकायका रूपमा रहेको सचिवालय र केन्द्रीय कार्यालयको संरचनालाई हटाउने प्रस्ताव गरिएको छ । सबै तहको कमिटीमा निर्वाचित हुन ७० वर्षे उमेरहदको व्यवस्थालाई हटाउने प्रस्ताव अघि सारिएको छ ।
आज ८ बजेबाट महाधिवेशन सुरु हुने र १० बजे प्रतिवेदन पेस गरिसकेर समूहगत छलफल थाल्ने प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले जनाउ दिएका छन् ।
महाधिवेशनको समसामियक प्रस्ताव लेखनको संयोजकको जिम्मेवारी भने योगेश भट्टराईलाई दिइएको छ । महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कूल दुई हजार ३४१ जनाको सहभागिता रहेको छ ।


प्रतिक्रिया