आज निजामती सेवा दिवस मनाइँदै

आज निजामती सेवा दिवस मनाइँदै


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीहरूले आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन्।

निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विक्रम संवत् २०१२ भदौ २२ गतेको स्मरण गर्दै २०६१ सालदेखि हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाउने गरिन्छ।

दिवसको अवसरमा आज बिहान सिंहदरवारस्थित पुरानो संसद भवन अगाडिको प्रांगणबाट प्रभातफेरी निकाल्ने कार्यक्रम छ। बिहान ७ बजेर १५ मिनेटमा सुरु हुने प्रभातफेरी भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा पुगेर मूल समारोहमा परिणत हुनेछ।

सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट अघिल्लो वर्ष घोषणा गरिएको उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गर्ने कार्यक्रम छ।

गत वर्ष घोषणा गरिएका उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जनालाई र निजामती सेवा पुरस्कारबाट ३० जनालाई आज सम्मान गर्न लागिएको हो। उत्कृष्ट निजामती सेवा पुरस्कार १ लाख रुपैयाँ राशिको र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँ राशिको छ।

यस वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कारका लागि छनोट भएका कर्मचारीहरूले आगामी वर्षको निजामती सेवा दिवस मूल समारोहमा पुरस्कार तथा सम्मान पाउने छन्।

यो दिवस पछिल्लो समय औपचारिकतामा मात्र सीमित बन्दै गइरहेको छ, जसले राजनीतिको र जनताको नजरमा क्रमश: भरोसा गुमाउँदै जानु कर्मचारीतन्त्रका लागि गम्भीर खतराको संकेत हो।