एमाले विधान महाधिवेशनमा सबै प्रतिवेदन सर्वसम्मतले पारित

एमाले विधान महाधिवेशनमा सबै प्रतिवेदन सर्वसम्मतले पारित



काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत भएका प्रतिवेदनहरू सर्वसम्मतले पारित भएको छ ।

गोदावरीको सनराइज हलमा ३ दिन बसेको विधान महाधिवेशनमा पार्टी अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायतले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा.विजय सुब्बाद्वारा प्रस्तुत प्रतिवेदन पनि पारित भएको छ ।

प्रतिनिधिलाई समूहगत छलफलका लागि १० समूहमा विभाजन गरिएको थियाे । आज समूहगत छलफलको सुझाव टोली नेताले प्रस्तुत गरेका थिए ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित सम्पन्न गोदावरी विधान महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कूल दुई हजार ३४१ जना सहभागी थिए ।