संसदीय सुनुवाइ समितिका सभापति खतिवडाद्वारा पदभार ग्रहण

संसदीय सुनुवाइ समितिका सभापति खतिवडाद्वारा पदभार ग्रहण


ग्लोब नेपाल
567
Shares

काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त) का सभापति पदमा निर्वाचित माननीय रामहरि खतिवडाले सपथग्रहण गरी पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्नुअघि सिंहदरबारस्थित कृषि समितिको हलमा सभापति खतिवडाले सभामुख देवराज घिमिरेबाट सपथ लिएका थिए ।

सपथपछि सभापति खतिवडाले निष्पक्ष रूपमा समितिको भूमिका अघि बढाउने बताएका छन् । संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदको शपथ लिएपछि आज कुरा गदै उनले गलत व्यक्ति सिफारिस भई सुनुवाइका लागि समितिमा आएमा त्यसलाई सदर नगर्ने बताए ।

एउटाले गलत प्रस्ताव गरे अर्कोले देख्छ भनेर नै संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, राष्ट्रिय सभाको अध्यक्ष, प्रमुख प्रतिपक्षी दलको नेता, उपसभामुखलगायत राख्ने व्यवस्था गरिएको पनि सभापति खतिवडाले बताए । यति हुँदाहुँदै पनि गलत मानिस सिफारिस गरे त्यसलाई सदर नगर्ने उनको प्रतिबद्धता छ ।

समितिको सभापतिका रूपमा निष्पक्ष भएर भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि उनले शपथ ग्रहणपछि जनाएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा हुँदा पनि निष्पक्ष भएर काम गरेको बताउँदै उनले अरूको गल्तीमा पनि आफूले नैतिक जिम्मेवारी लिँदै राजीनामा गरेको प्रष्ट पारे ।