राष्ट्रिय सहमतिको सरकार, संविधान संशोधनका लागि कांग्रेस नेता पौडेलको आह्वान

राष्ट्रिय सहमतिको सरकार, संविधान संशोधनका लागि कांग्रेस नेता पौडेलको आह्वान


ग्लोब नेपाल
297
Shares

काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले देशमा हालै उत्पन्न विषम परिस्थितिलाई सम्बोधन गर्न संवैधानिक समाधान र राष्ट्रिय मेलमिलापको लागि आह्वान गरेका छन् । पौडेलले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै यस्तो आह्वान गरेका हुन् ।

भ्रष्टाचारविरुद्ध जेनजी युवा समूहले गरेको आन्दोलन र त्यसपछिका घटनाक्रमले देशमा राजनीतिक शून्यता सिर्जना गरेको भन्दै उनले तत्काल राष्ट्रिय सहमतिको सरकार गठन गर्न, संविधान संशोधन गर्न र पार्टी नेतृत्वले राजीनामा दिई छ महिना भित्र पार्टीको महाधिवेशन गर्न माग गरेका छन् ।

भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा युवाहरूको निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै पौडेलले एक विज्ञप्तिमार्फत मृतकहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

उनले शान्तिपूर्ण आन्दोलनमा भएको बल प्रयोगको निन्दा गर्दै आन्दोलनको आडमा घुसपैठ गरी निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गर्ने समूहको कार्यको पनि भर्त्सना गरेका छन् । पौडेलले काँग्रेस सभापति शेरबहादुर देउवालगायत राजनीतिक तथा राष्ट्रसेवक व्यक्तिहरूमाथि भएको हमलाको समेत निन्दा गर्दै सम्पूर्ण घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न जोडदार माग गरेका छन् ।

देशलाई राजनीतिक र संवैधानिक शून्यताबाट जोगाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिँदै पौडेलले राष्ट्रपतिले थालेको संवादको पहललाई स्वागत गर्दै उनले युवाले उठाएका भ्रष्टाचार र कुशासनविरुद्धका आवाज जायज भएको स्वीकार गरेका छन् । यस संकटलाई राष्ट्रिय पुनर्जागरणको अवसरमा परिणत गर्नुपर्ने पौडेलको भनाइ छ ।

मुलुकलाई तत्काल निकास दिन नेपाली काँग्रेसले बैठक आयोजना गरेर निकास खोज्न नेता पौडेलको माग छ ।