काठमाडौं । डा. गोविन्द केसीले जेनजी आन्दोलनमा गरेको दमनको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन् । डा. केसीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।
विज्ञप्तिमा उनले भनेका छन्, “उक्त दुःखद घटनाबाट म मर्माहत भएको छु र सोको घोर भर्त्सना गर्दै निष्पक्ष छानबिन गरी दोषीहरूलाई कारबाही गर्न माग गर्दछु । नवयुवाले जायज माग राख्दै गरेको विरोध प्रदर्शनमा गोली प्रहारबाट करिब दुई दर्जनभन्दा बढीको मृत्यु हुनु सरकारलगायत सम्पूर्ण राजनीतिक नेतृत्वको गैरलोकतान्त्रिक, अमानवीय, लज्जाजनक र गैरजिम्मेवारपूर्ण कार्य हाे ।”
“युवाहरूको सो आवाज सरकार र संलग्न दललाई मात्र नभएर विगतमा सरकार चलाएका तथा सहभागी भएका विपक्षी राजनीतिक दललगायत सबै राजनीतिक दल तथा नेताहरूलाई पनि लक्षित थियो भन्ने सबैले स्मरण गर्नु उपयुक्त हुन्छ भन्ने मेरो बुझाइ हो,” डा. केसीले भनेका छन् ।
उक्त घटनापश्चात् मुलुकभरि नै गरिएका आगजनी, तोडफोड, लुटपाट र हिंसाजस्ता विध्वंसात्मक घटनाले सबैको शिर लाजले निहुरिएको उनले जनाएका छन् । “निष्पक्ष छानबिन गरी सो घटनामा संलग्न पक्ष तथा व्यक्तिहरूलाई उपयुक्त कारबाही गर्न माग गर्दछु,” उनले भनेका छन् ।
देशमा विधिको शासन स्थापित गर्ने पवित्र उद्देश्यले गरिएको नवयुवाको आन्दोलनलाई राजनीतिकलगायत विभिन्न गलत तत्त्वबाट निहित स्वार्थका निम्ति बदनाम गर्न खोज्नु र मुलुकलाई अराजकता र अस्थिरतातिर धकेल्नु दुर्भाग्यपूर्ण भएको उनले जनाएका छन् ।
“लोकतान्त्रिक गणतन्त्रको सिद्धान्तलाई सर्वोपरी मानी चयनको क्रममा रहेको भावी अन्तरिम सरकारले देश र जनताले दिएको दायित्व इमानदारीपूर्वक तोकिएको समयावधिभित्र आन्दोलनको मर्मअनुरूप सफलतापूर्वक सम्पन्न गर्नेे अपेक्षा गरेको छु,” डा. केसीले भनेका छन् ।


प्रतिक्रिया