आगजनी र लुटपाटबाट क्षति भए पनि आफूहरु फेरि उठ्ने उद्यमीहरूको अठोट

आगजनी र लुटपाटबाट क्षति भए पनि आफूहरु फेरि उठ्ने उद्यमीहरूको अठोट



काठमाडौं । आगजनी र लुटपाटबाट क्षति ब्यहोरे पनि आफूहरु फेरि उठ्ने उद्यमीहरूले अठोट गरेका छन् । गएको सोमबार र मङ्गलबारको प्रदर्शनमा अर्बौ रुपैयाँ बराबरको क्षति भोगेका व्यवसायिक घरानाले सबैको साथ, सहयोग र प्रेरणाको बलमा लयमा फर्कने बताएका छन् ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष शेखर गोल्छा, नाडाका निर्वतमान अध्यक्ष ध्रुब थापा, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी लगायत उद्योगी/व्यवसायीले आत्मबल बलियो बनाउँदै अगाडि बढ्ने अठोट गरेका छन् ।

उनहरुले आम नेपालीको चाहना अनुसार देशमा शान्ति, सु–व्यवस्था कायम हुने विश्वास व्यक्त गर्दै फेरि पनि रोजगारी सिर्जना र लगानीमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

नेपाल उद्योग परिसङ्घले पनि यसका लागि आवश्यक सहयोग, सहकार्य एवम् समन्वय गर्न प्रतिबद्ध रहेको जनाएको छ । लगानीकर्ता त्रसित भइरहने अवस्थाले रोजगारीसँगै स्वदेशी एवम् विदेशी लगानीमा असर पार्ने भएकाले निजी क्षेत्रलाई निर्वाध रुपमा उद्योग व्यवसाय गर्ने वातावरण बनाइ सुरक्षाको प्रत्याभूति दिलाउन परिसङ्घले आग्रह समेत गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अनुसार उद्योग–व्यवसाय प्रतिष्ठानमा देशभर अर्बौं रुपैयाँ बराबरको क्षति भएको छ । जेन–जी आन्दोलनका क्रममा भएको आगजनीबाट भाटभटेनी, चन्द्रागिरी हिल्स, हिल्टन होटल, टाटा, हुन्डाइ, महिन्द्रा र सिजी मोटर्सका शोरूमलगायतमा ठूलो क्षति पुगेको छ ।