काठमाडौं । नेपालमा वाह्य हस्तक्षेप बढेको दाबी गर्दै धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ रोएका छन् । जेन जेड आन्दोलनपछि प्रधानमन्त्री बन्न इच्छा देखाएका साम्पाङले रुँदै नेपाललाई विदेशीलाई कब्जा गर्न सक्ने खतरा रहेको दाबी गरेका हुन् ।
भदौ २३ र २४ गते भएको आन्दोलनपछि चल्तीका सबै नेताको भागाभाग भएको र मुलुक नेतृत्व लिन कोही अघि नसरेकाले आफूले इच्छा देखाएको उनको भनाइ छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा मेयर साम्पाङ भावुक भएर चिन्ता जताउँदै रोइरहेको देखिन्छ ।
‘विदेशीले यतिखेर टेकओभर गर्न सक्ने सम्भावना छ, के गर्ने ? सबै नेताहरू भागाभाग, रक्ताम्मे, कोही बागमतीमा कुटाइ खाँदै गरेको, कोही कहाँ के, तहसनहस, पार्टीको कार्यालय तहसनहस, को आउने त, को शक्ति आउने त त्यहाँ ? कोही छैन, कसले गरेको, कसरी गरेको भन्ने बारेमा कसैलाई थाहा पनि छैन ?,’ उनले भनेका छन् ।
मानिसहरूले आफूलाई नेतृत्व लिन आग्रह गरेपछि अघि सरेको उनको तर्क छ । आफूले हिम्मत नहारेको बताउँदै उनले भने, ‘तँलाई गोली लाग्न सक्छ भन्ने कुराहरू थियो त्यहाँ, ठिक छ लाग्छ भने लागोस् भनेर त्यो उसमा निस्केँ ।’
आफू अघि सर्दा अरू लुकेर बसेको भन्दै उनले मुलुक बचाउन बलिरहेको आगोमा हाम फालेको बताए । मानिसहरूको प्रस्ताव अनुसार प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेको बताउँदै साम्पाङ भदौ २५ गते काठमाडौँ आएका थिए ।


प्रतिक्रिया