झापा । आज पनि देशका विभिन्न ठाउँमा पानी परेको छ । मनसुन सक्रिय भएसँगै अस्तिदेखि देशका धेरै ठाउँमा पानी परेकोमा त्योक्रम आज दिउँसोपछि केही कम भएको छ । तर कतिपय ठाउँमा अहिले पनि पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकाका थोरै ठाउँ सुन्दरीजल, धापड्यामसहित सिन्धुपाल्चोक, तनहुँ, नवलपरासी, सुर्खेत, डडेलधुरा, सोलुखुम्बु, भोजपुरलगायतका जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो १२ घण्टामा भने देशका धेरै ठाउँमा पानी परेकोमा मोरङ र झापामा ठूलो वर्षा भएको छ ।
पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै मोरङको हरैचा वर्षामापन केन्द्रमा ७५ मिलिमिटर वर्षामापन भएको छ । त्यस्तै झापाको केचनामा ७० मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा बाँकी भागका एक/दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया