टी-२० विश्वकप एसिया छनोटअघि वेस्ट इन्डिजसँगको सिरिज महत्वपूर्ण : रोहित पौडेल

टी-२० विश्वकप एसिया छनोटअघि वेस्ट इन्डिजसँगको सिरिज महत्वपूर्ण : रोहित पौडेल


ग्लोब नेपाल
27
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आइसिसी टी-२० विश्वकप एसिया छनोटअघि वेस्ट इन्डिजसँगको सिरिज महत्वपूर्ण रहेको बताएका छन् ।

नेपालले पहिलोपटक टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्दैछ । यो सिरिज सेप्टेम्बर २७ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा हुने तालिका छ ।

कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको बिदाइ कार्यक्रममा कप्तान रोहितले यो सिरिज नेपाली टोलीका लागि ऐतिहासिक भएको बताए । यो सिरिज ओमानमा अक्टोबर ८ देखि १७ सम्म हुने आइसिसी टी-२० विश्वकप एशिया प्यासिफिक रिजनल फाइनलको तयारीका लागि खेलिन लागेको हो ।

रोहितले वेस्ट इन्डिजसँगको सिरिजले विश्वकप छनोटमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले गत एक महिनादेखि अस्ट्रेलियामा गरेको तयारी र खेलहरूले टोलीको मनोबल उच्च रहेको बताए ।

सबै खेलाडी राम्रो लयमा रहेको र उत्कृष्ट प्रदर्शन गर्नेले प्लेइङ ११ मा स्थान पाउने उनको भनाइ छ । वेस्ट इन्डिज ‘ए’ सँगको पछिल्लो ३–२ को नतिजाले टोलीमा आत्मविश्वास बढाएको उनले उल्लेख गरे ।

पछिल्लो दुई वर्षमा टेस्ट राष्ट्रहरूसँग खेलेका अनुभवले खेलाडीहरूमा आत्मविश्वास बढेको र यो सिरिजले विश्वकप छनोटमा सहयोग पुग्ने उनको विश्वास छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्काले टोलीको बिदाइ गरे ।

सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले यो सिरिजलाई नेपाली क्रिकेटका लागि अवसरका रूपमा लिएको बताए । उनले टेस्ट राष्ट्रलाई हराउने अवसर र टेस्ट राष्ट्र बन्ने यात्रामा यो सिरिजले सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेपालका प्रशिक्षक स्टुअर्ट ल भने हाल लन्डनम रहेकाले उतैबाट युएई पुग्नेछन् ।

राखेपका सदस्यसचिव घिसिङले टेस्ट टोलीसँग खेल्ने अवसर विरलै प्राप्त हुने भन्दै यसको भरपूर उपयोग हुनेमा आशावादी रहेको बताए । उनले विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरी देशलाई सन्देश दिन आग्रह गरे ।

उनले देशको परिवर्तनका लागि युवा आन्दोलनमा भएको बलिदानप्रति श्रद्धाञ्जली अर्पण गर्दै क्रिकेट खेलाडी गुमाउनुपरेको र केही घाइते भएको उल्लेख गरे ।

यस्तो अवस्थामा पनि नेपाल प्रिमियर लिग (एनपिएल) समयमा आयोजना हुने प्रतिबद्धताको स्वागत गर्दै राखेपले सहयोग गर्ने प्रतिबद्धता जनाए । क्यानका उपाध्यक्ष रोशन सिंहले नेपाली क्रिकेटले देशमा खुशी ल्याएको भन्दै खेलाडीको जीवन धान्ने वातावरण बनाउन सरकारले ध्यान दिनुपर्ने बताए । उनले युवाहरूको बलिदानप्रति श्रद्धाञ्जली अर्पण गरे ।