काठमाडौं । जेनजीको आन्दोलनपछि शासन व्यवस्थाको कार्यशैली माथि बहस भईरहेको अवस्थामा मधेस प्रदेशका प्रदेशसभा सदस्यहरुले सबै दल एक ढिक्का भएर संघीयताको पक्षमा आवाज बुलन्द गर्ने पक्षमा देखिएका छन् ।
उनीहरुले संघीयतामाथि कुनैपनि किसिमले प्रहार भएको खण्डमा यसको सशक्त प्रतिवाद गर्न समेत प्रदेश सभाको बैठक नियमित संचालन हुनुपर्ने माग गरेका छन् ।
जेनजीको आन्दोलनपछि अन्तरिक सरकार निर्माण भएसँगै संघीयताको विषयमा समेत विभिन्न खालको सन्देहात्मक टिप्पणीहरु अहिले सुन्ने गरिएको छ । यसलाई चिर्नका लागि समेत प्रदेशका जनप्रतिनिहिरुको सर्वोच्च संस्था प्रदेश सभा संचालनमा सबै दलहरु एक ढिक्का भएका छन् ।
मुख्यमन्त्री सतिशकुमार सिंहलाई आफनै पार्टीले फिर्ता बोलाउने पत्र पठाएको र मुख्यमन्त्रीले प्रदेश सभामा विश्वास मत लिने मनःस्थिति बनाएपछि प्रदेश सभाको बैठक बसाउनुपर्ने अनिवार्यता रहेको छ । तर सरकार पक्षका केही दल भने प्रदेश सभा संचालन गराउनेमा आनाकानी गरिरहेका छन् ।
प्रदेश सभामा आगजनी भएपछि संचालन गर्न निकै समस्या र चुनौतीहरु रहेका छन । संचालनको लागि हल कुर्सी सहितको व्यवस्थापनको समस्या रहेको छ । तरपनि दलहरु जसरी पनि प्रदेश सभा संचालनको पक्षमा रहेका छन् ।
प्रदेश सभा संचालनको विषयमा दलहरुबीचमा सहमति खोज्न सभामुखले शनिबार सर्वदलिय बैठक बोलाएका छन् ।


प्रतिक्रिया