काठमाडौं । सरकारले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उनकी पत्नी आरजु राणा र निवर्तमान ऊर्जामन्त्री दीपक खड्कामाथि सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धान सुरु गरेको छ । अनुसन्धान सकिएपछि मुद्धा चलाउने तयारी भएको बुझिएको छ ।
श्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले देउवा दम्पती र खड्कालाई अनुसन्धानको दारायामा ल्याउन सम्पत्ति शुद्धिकरण विभागका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
विभागको टोलीले आइतबार देउवा र खड्का निवास पुगेर जलेका रकबारे अनुसन्धान थालेको छ । विभागका एसपी नवरत्न पौडेल नेतृत्वको टोलीले दुवै घरको स्थलगत अध्ययन गरेको छ । सँगै विभागले मुचुल्का उठाएर अनुसन्धान थालेको छ ।
देउवा र खड्काको बुढानीलकण्ठस्थित निवासमा २४ भदौमा जेनजी आन्दोलनकारीले लुटपाट र आगजनी गरेका थिए । त्यस क्रममा ती दुवैका निवासबाट नेपाली र विदेशी मुद्रा लुटिएको थियो ।
आन्दोलनकारीले पैसा उडाएका भिडियो सामाजिक सञ्जालभर छरपस्ट देखिन्छ । केही रकम घरसँगै जलेका भिडियो फुटेज पनि सार्वजनिक भएका छन् । तर, कति रकम लुटपाट भयो र कति जल्यो भन्नेबारे यकिन तथ्यांक सार्वजनिक भएको छैन । देउवाका स्वकीय सचिव भानु देउवाले केही दिनअघि विज्ञप्ति जारी गर्दै प्रविधिको प्रयोग गरी बनाइएका भिडियो सञ्जालमा पोष्ट गरेर भ्रम फैलाउन खोजिएको बताएका थिए ।


प्रतिक्रिया