सिपिएल २०२५: ट्रिनबागो नाइट राइडर्स पाँचौं पटक विजेता

सिपिएल २०२५: ट्रिनबागो नाइट राइडर्स पाँचौं पटक विजेता



काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०२५ को उपाधि ट्रिनबागो नाइट राइडर्सले जितेको छ। नेपाली समयअनुसार सोमबार विहान सम्पन्न फाइनलमा नाइट राइडर्सले गुएना अमेजन वारियर्सलाई ३ विकेटले हराउँदै पाँचौं पटक सिपिएल को उपाधि आफ्नो नाममा ल्याएको हो।

वारियर्सले दिएको १३१ रनको लक्ष्य नाइट राइडर्सले २ ओभर बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्‍यो। नाइट राइडर्सका लागि एलेक्स हेल्सले सर्वाधिक २६ रन बनाए। त्यस्तै, कोलिन मनरोले २३, सुनिल नराइनले २२, र कायरन पोलार्डले २१ रन योगदान गरे।

वारियर्सका कप्तान इमरान ताहिरले ३ विकेट लिए, भने ड्वेन प्रेटोरियस र शमार जोसेफले २–२ विकेट लिए।

पहिले ब्याटिङ गरेको वारियर्सले २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको थियो। इफ्तिखार अहमदले ३० रन, बेन मेकडरमोटले २८, र प्रेटोरियसले २५ रन बनाए।

नाइट राइडर्सका लागि सौरभ नेत्रवल्करले ३ विकेट, अकिल होसेनले २, तथा आन्द्रे रसेल र उसमान तारिकले १–१ विकेट लिए।

सिपिएल २०२५ को लिग चरणमा वारियर्स दोस्रो स्थानमा र नाइट राइडर्स तेस्रो स्थानमा रहेर प्लेअफमा पुगेका थिए। ट्रिनबागो नाइट राइडर्सले यसअघि २०१५, २०१७, २०१८, र २०२० मा पनि उपाधि जितिसकेको छ।