उद्योग मन्त्रीको पहिलो निर्णय : स्वदेशी उत्पादनमा प्राथमिकता

उद्योग मन्त्रीको पहिलो निर्णय : स्वदेशी उत्पादनमा प्राथमिकता

शहीदका परिवार र आन्दोलनमा घाइते भएका व्यक्तिहरूलाई रोजगारीको व्यवस्था गर्ने



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल सिन्हाले आफ्नो पदभार ग्रहणसँगै सार्वजनिक निकायमा स्वदेशी उत्पादनको प्रयोगलाई प्राथमिकता दिने निर्णय गरेका छन् ।

नेपाल सरकारका सचिवहरूको २०८२/०५/३१ गतेको बैठक (निर्णय नम्बर ११) अनुसार आन्दोलनका क्रममा ध्वस्त भएका संरचना र नयाँ खरिद गर्नुपर्ने फर्निचर तथा अन्य सामानको खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने निर्णय गरिएको थियो ।

उद्योग मन्त्रालयले वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमार्फत “नेपाली उत्पादन” नामक विद्युतीय पोर्टल निर्माण गरी स्वदेशी वस्तुका नाम, गुणस्तर, मूल्य, मापदण्ड र परिणामसम्बन्धी जानकारी संलग्न गरी सूचीकृत गर्ने तयारी गरिरहेको छ ।

मन्त्री सिन्हाले भने, “यस कदमले स्थानीय स्रोत साधनको अधिकतम प्रयोग, रोजगारी सिर्जना, आयात व्यवस्थापन र बजार प्रवर्द्धनमा योगदान पुर्‍याउनेछ ।”

पदभार ग्रहण गर्दै मन्त्री सिन्हाले शहीद परिवारका सदस्य र आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूका लागि रोजगारीको व्यवस्था गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।

मन्त्री सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।