काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा रहेका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन र सम्पत्ति विवरण लगायतका महत्त्वपूर्ण कागजात र अभिलेख सुरक्षित रहेका छन् ।
जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भदौ २४ गते सिंहदरबार परिसरमा भएको आगजनी र तोडफोडको घटनामा केन्द्रमा रहेका ती महत्त्वपूर्ण दस्तावेज र फाइलहरू सुरक्षित रहेका केन्द्रका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए ।
शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको भुइँ तलामा रहेको केन्द्रका झन्डै दुई दर्जन गाडीमा आगजनी गर्नुका साथै कुर्सी, टेबुल र दराजसहितका फर्निचर भने आन्दोलनकारीले तोडफोड गरेका थिए ।
कर्मचारीका कार्यसम्पादन मूल्याङ्कन, सम्पत्ति विवरणलगायतका महत्त्वपूर्ण अभिलेखमा कुनै क्षति नपुगेको तथा सुरक्षित नै रहेको केन्द्रका प्रवक्ता भट्टले बताए । विभिन्न उजुरीमाथि भइरहेको छानबिनसम्बन्धी फाइल, उजुरी र अरू केही महत्वपूर्ण अनुसन्धानका फाइल पनि सुरक्षित नै रहेको केन्द्रले जनाएको छ ।


प्रतिक्रिया