जापानमा एलडिपी नेतृत्वका लागि प्रतिस्पर्धा सुरु

जापानमा एलडिपी नेतृत्वका लागि प्रतिस्पर्धा सुरु


एएफपी
81
Shares

निवर्तमान प्रधानमन्त्री सिगेरु इसिबाको उत्तराधिकारी छान्न सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले सोमवार आधिकारिक अभियान सुरु गरेको छ । यो प्रतिस्पर्धा राजनीतिक स्थिरता कायम गर्ने र संकट ग्रस्त पार्टीलाई पुनः जनसमर्थन दिलाउने लक्ष्यसँग जोडिएको छ ।

अक्टोबरको सुरुआतमा हुने मतदानअघि एलडिपी नेतृत्वका लागि पाँच जना उम्मेदवार मैदानमा छन् । ‘परिवर्तन, एलडिपी’ भन्ने नारा सहित सुरु भएको यो दौड पार्टीको भविष्यका लागि महत्त्वपूर्ण मानिएको छ ।

गत वर्ष एलडिपी र यसको कनिष्ठ साझेदार कोमेइटो दुवैले ठूलो घाटा बेहोरेपछि अब नयाँ नेताले बढ्दो महँगीलाई सम्बोधन गर्नुका साथै संसद्मा बहुमत गुमाएको स्थितिबाट पार्टीलाई उकास्नु पर्नेछ ।

एलडिपी अझै पनि संसद्को सबैभन्दा ठूलो दल भएकाले नयाँ नेता प्रधानमन्त्री बन्ने सम्भावना बलियो छ । तर नयाँ प्रधानमन्त्रीले विपक्षी दलहरूसँग सहकार्य नगरे अविश्वास प्रस्ताव र छोटो अवधिका सरकारहरूको जोखिम सामना गर्नुपर्ने चेतावनी विश्लेषकहरूले दिएका छन् ।

अक्टोबर ४ मा हुने मतदान सर्वसाधारणका लागि खुला छैन । यसमा दुई सय ९५ एलडिपी सांसद र करिब १० लाख भुक्तानी सदस्य मात्र सहभागी हुनेछन् । यो जापानको कुल मतदाताको एक प्रतिशतभन्दा कम हो । यदि पहिलो चरणमा कसैले बहुमत पाएन भने शीर्ष दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ । नयाँ नेताले प्रधानमन्त्री बन्न संसदीय मतदानमा केही विपक्षी सांसदहरूको समर्थन पनि जुटाउनुपर्नेछ ।

प्रतिस्पर्धामा रहेका पाँचै उम्मेदवार पूर्व वा हालका मन्त्री हुन् । उनीहरूले आफूलाई मध्यम रूढीवादी भन्दै विपक्षीसँग सहकार्य गर्न इच्छुक रहेको सन्देश दिएका छन् । सोमबारको संयुक्त कार्यक्रमले अर्थतन्त्र र आप्रवासन नीतिमा कडा उपायहरूलाई प्राथमिकतामा राखेको छ । कृषिमन्त्री शिन्जिरो कोइजुमी र पूर्व आर्थिक सुरक्षा मन्त्री साना ताकाइचीलाई प्रमुख दावेदार मानिएको छ ।

चवालिस वर्षका शिन्जिरो कोइजुमी लोकप्रिय पूर्वप्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा हुन्। उनले गत वर्ष इसिबासँग प्रतिस्पर्धा गरेका थिए । यस पटक दोस्रो प्रयास गरिरहेका छन् ।

कृषि मन्त्रीका रूपमा उनले मूल्य नियन्त्रणका लागि आपत्कालीन चामल भण्डार जारी गरेका थिए । जनताको आवाज नजिकबाट सुन्ने वाचा गर्दै उनले पार्टी सुधार र सार्वजनिक सुरक्षामा जोड दिएका छन् ।