ऊर्जा मन्त्री कुलमान घिसिङ र बेलायती राजदूतबीच भेटवार्ता

ऊर्जा मन्त्री कुलमान घिसिङ र बेलायती राजदूतबीच भेटवार्ता



काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ सहित तीन मन्त्रालयको जिम्मा पाएका कुलमान घिसिङ र नेपालस्थित बेलायती राजदूत रब फेनबीच भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई बेलायती राजदूत फेनले बधाई दिए । उनले कुलमानको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

भेटमा नेपाल-बेलायतबीच मित्रता, सहकार्य, ऊर्जा क्षेत्रमा बेलायतको सहयोग, पूर्वाधार क्षेत्रमा लगानीको सम्भावना, जलवायु परिवर्तनबाट सिर्जित समस्या न्यूनीकरणका उपायका लागि आवश्यक सहयोग लगायत विषयमा छलफल भएको छ ।

भेटमा मन्त्री घिसिङले जेन जेड आन्दोलनपछि गठन भएको सरकारको मुख्य प्राथमिकताका रूपमा आन्दोलनका कारण क्षति भएका संरचना पुनर्निर्माण, आमचुनाव र सुशासन कायम गर्नु रहेको बताए ।

नेपालको पुरानो मित्र बेलायतले नेपालको आर्थिक विकासमा गरेको सहयोगको सराहाना गर्दै नेपाललाई कार्बनरहित बनाउन विद्युतीय सवारीसाधन प्रयोग बढाउन चार्जिङ स्टेसन स्थापनाका लागि भइरहेको सहयोग प्रभावकारी रहेको बताए ।