निजामती कर्मचारी युनियनद्वारा अव्यवहारिक बर्खास्ती र राजीनामा मागको विरोध

निजामती कर्मचारी युनियनद्वारा अव्यवहारिक बर्खास्ती र राजीनामा मागको विरोध



काठमाडौं। निजामती कर्मचारीका ६ वटा ट्रेड युनियनहरूले पछिल्लो समय सार्वजनिक प्रशासन रुपान्तरणको नाममा कुनै व्यक्ति वा पद विशेषको बर्खास्ती वा राजीनामा माग्ने प्रवृत्ति रोक्न ध्यानाकर्षण गराएका छन्।

यी युनियनहरूले मुख्य सचिव एकनारायण अर्याललाई बुझाएको ज्ञापनपत्रमार्फत कानून बमोजिम सञ्चालनमा रहेका संघ-संगठनप्रति नकारात्मक टिप्पणी र विघटनका माग स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

अन्तरिम सरकार गठनसँगै केही कर्मचारीहरूले जेनजी निजामती भेला गर्दै मुख्यसचिवसहित केही सचिव, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार तथा रजिष्ट्रार, र संसदका महासचिवलगायतको राजीनामा माग गरेका थिए। उनीहरूले ट्रेड युनियनहरूको विघटनको माग समेत गरेका थिए।

यसको काउन्टरमा, निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी दाहाल, कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटुवाल, राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अम्बदत्त भट्टलगायत ६ वटा संगठनले संयुक्त प्रेस वक्तव्य जारी गर्दै यस्ता गतिविधि र अभिव्यक्तिको कडा प्रतिवाद गरेका छन्।

संयुक्त प्रेस वक्तव्यमा संगठनहरूले प्रशासनिक स्थिरता र कानुन बमोजिमको कर्मचारी व्यवस्थापनलाई सुनिश्चित गर्न आवश्यक ठानेका छन्। उनीहरूले कर्मचारी अधिकारको संरक्षण गर्दै संघ-संगठनको स्वतन्त्रता सुरक्षित राख्न पनि जोड दिएका छन्।