काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोको भिसा रद्द गर्ने निर्णय गरेको छ । पेट्रोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशको अवज्ञा गर्न अमेरिकी सैनिकलाई खुलेर आह्वान गर्नुभएको थियो । उनको भिसा रद्द गर्ने निर्णयपछि अमेरिका–कोलम्बियाबीचको सम्बन्धमा थप तनाव बढेको छ ।
अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत् राष्ट्रपति पेट्रोको भड्काउ गतिविधिका कारण भिसा रद्द गरिएको जनाएको छ । राष्ट्रपति पेट्रो संयुक्त राष्ट्र महासभाको वार्षिक अधिवेशनका लागि न्युयोर्कमा रहँदा गाजामा चलिरहेको युद्धविरुद्ध भएको विरोध प्रदर्शनमा सहभागी भएका थिए ।
त्यस क्रममा उनले अमेरिकी सैनिकलाई मानवताको पक्षमा उभिन र ट्रम्पका आदेशको अवज्ञा गर्न भनेकाे समाचार संस्था एपीले जनाएको छ ।
राष्ट्रपति पेट्रो कोलम्बिया फर्किसक्नुभएको छ । विशेषगरी लागुऔषध तस्करीविरुद्धको लडाइँमा कोलम्बिया अमेरिकाको निकट सहयोगी मानिन्छ । तर, पछिल्लो पटक अमेरिकाले कोलम्बियालाई लागूऔषध नियन्त्रणका प्रयासमा असफल भएको भन्दै आलोचना गरेको थियो ।
अमेरिका कोलम्बियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार पनि हो । तर वामपन्थी तथा पूर्व विद्रोही नेता पेट्रो र ट्रम्प प्रशासनबीच बारम्बार मतभेद देखिँदै आएको छ ।


प्रतिक्रिया