काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
आइतबार भएको उक्त भेटका अवसरमा नेपाल–जापानबीचको ऐतिहासिक सम्बन्ध, नेपालको पछिल्लो राजनीतिक अवस्था, तथा जापानले पुर्याउँदै आएको आर्थिक–सामाजिक सहयोगका विषयमा विस्तृत छलफल भएको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
भेटका क्रममा अर्थमन्त्री खनालले विशिष्ट परिस्थितिमा गठन भएको वर्तमान सरकारको मुख्य उद्देश्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुरहेको उल्लेख गर्दै यस अवधिमा पुनर्निर्माण तथा आर्थिक–सामाजिक विकासका कामहरूलाई निरन्तरता दिइने स्पष्ट पारे ।
दुई पक्षबीच हाल निर्माणाधीन नागढुङ्गा सुरुङमार्ग परियोजना, तनहुँ जलविद्युत् आयोजनालगायतका प्रमुख सहकार्य परियोजनाबारे छलफल भएको थियो ।
साथै, कोटेश्वर चोक सुधार आयोजना तथा बाढीबाट प्रभावित सिन्धुली सडक पुनःस्थापना कार्यक्रमजस्ता आगामी परियोजनाहरूका सन्दर्भमा समेत विचारविमर्श भएको जनाइएको छ ।


प्रतिक्रिया