साउदीमा काममा अनुपस्थित श्रमिकले नयाँ रोजगारदातासँग काम गर्न पाउने

साउदीमा काममा अनुपस्थित श्रमिकले नयाँ रोजगारदातासँग काम गर्न पाउने



काठमाडौँ । साउदी सरकारले पुरानो रोजगारदातालाई छाडेर बस्दा ‘काममा अनुपस्थित’ भएको श्रमिकले नयाँ रोजगारदातासँग काम गर्न पाउने नयाँ नियम लागू गरेको छ ।

साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले रोजगारदाता परिवर्तन गर्न पाउने नियमलाई थप लचकता बनाउँदै पुरानो रोजगारदाता छाडेका श्रमिकलाई कानुनी हैसियत दिएको हो । अब कानुनी हैसियत गुमेका श्रमिकलाई पुनः कानुनी हैसियत पाइनेछ । यो व्यवस्था १८ सेप्टेम्बर २०२५ देखि किवा (साउदीको अनलाइन प्लेटफर्म) मार्फत कार्यान्वयनमा ल्याएको छ ।

मानव संसाधन मन्त्रालयका अनुसार यो नियमले श्रमिकको करार अधिकार सुरक्षित गर्ने, साउदी अरबको श्रम बजारलाई आकर्षक बनाउने र श्रम नियमहरूको पालना सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।

यो नियम अनुसार काममा अनुपस्थितको हैसियत भएका तीन थरीका श्रमिकले रोजगारदाता परिवर्तन गर्न पाइनेछ । जसमा काममा अनुपस्थित भई ६० दिनको ग्रेस पिरियड पाएका, करार अवधि सकिएको वा करार तोडिएका र १८ सेप्टेम्बर २०२५ भन्दा अघि अनुपस्थित रिपोर्ट दर्ता गरिएका श्रमिक रहेका छन् ।

यसको लागि दुई सर्त राखिएको छ । जसमा नयाँ रोजगारदाताले श्रम परमिट लगाउन लाग्ने सबै शुल्क तिर्ने प्रतिबद्धता जनाउनुपर्छ । ती श्रमिकहरू अघिल्लो काम छोड्नु अघि वा करार अवधि सकिनु अघि कम्तीमा १२ महिनासम्म लगातार साउदी अरबमा काम गरेको हुनुपर्छ ।

मानव संसाधन मन्त्रालयका अनुसार यो नियमले श्रम बजार सुधार गर्न निरन्तर चालिरहेको एउटा हिस्साको रूपमा आएको हो । यसले रोजगारदाता र श्रमिक दुवैका लागि न्यायपूर्ण समाधान दिने, नियमलाई पालना प्रोत्साहित गर्ने र साउदी अरबको श्रम बजारलाई थप प्रतिस्पर्धात्मक कार्य वातावरण सिर्जना गर्ने मानव संसाधन मन्त्रालयले जनाएको छ ।

साउदीमा नियमित तलब नपाउने, कम तलब पाउने र कार्यवातावरण नहुँदा कम्पनी छाड्ने गरेका छन् । साउदीमा कार्यरत नेपाली श्रमिकहरूले साउदीको नियमहरू व्यवहारिक रूपमा पालना गर्न श्रमिकलाई निकै कठिन हुने बताउँदै आएका छन् ।