महरापछि पूर्वउपराष्ट्रपति पुन र उनको परिवार अनुसन्धानको घेरामा

महरापछि पूर्वउपराष्ट्रपति पुन र उनको परिवार अनुसन्धानको घेरामा


ग्लोब नेपाल
162
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा भेप (विद्युतीय चुरोट) र सुन तस्करीमा अनुसन्धानका लागि हिजो पक्राउ परे । महरा पक्राउ परेसँगै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन तथा उनको परिवार अनुसन्धानको घेरामा तानिएका छन् । महरा र पुनको परिवार यो प्रकरणका साझेदार भएको प्रहरीको भनाइ छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेसँगै यस प्रकरणमा पुनमाथि पनि अनुसन्धान सुरु गरेको हो। यस प्रकरणले माओवादी केन्द्रका दुई शीर्ष नेताहरूलाई एउटै जालोमा जोडेको छ, जसले गर्दा देशको राजनीतिमा भूकम्प मात्र गएको छैन, तरंगसमेत पैदा भएको छ ।

सीआईबीले पुन, उनका दुई छोरा जितेन्द्र र दीपेश, तथा उनी उपराष्ट्रपति हुँदा नियुक्त ‘वैदेशिक मामिला विज्ञ’ जीवन गुरुङविरुद्ध अनुसन्धान अघि बढाएको छ। नेता पुन, जो १४ कात्तिक २०७२ देखि ६ चैत २०७९ सम्म नेपालको उपराष्ट्रपति थिए, उनको कार्यकालमा भएका गतिविधिहरूमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

पुनका जेठा छोरा जितेन्द्रमाथि हुम्लापारि चिनियाँ भूमि ताक्लाकोटमा ४ किलो सुन तमसुक गरी बुझेको आरोप लागेको छ। १९ असोज २०७६ (६ अक्टोबर २०१९) मा चीनको सेन्जेन प्रस्पर मंकक कम्पनीबाट चार किलो सुन उधारोमा किन्न उनले तमसुक गरेको विवरणहरू सार्वजनिक भएका छन्।

त्यस्तै, अर्का छोरा दीपेशमाथि असार २०८० मा हङकङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र त्यसअघि १० पुस २०७९ मा भेपमा लुकाएर ल्याइएको करिब ९ किलो सुन तस्करीमा संलग्न भएको आरोप छ। सुन जाँचबुझ आयोगले पनि दीपेशको संलग्नता किटान गर्दै थप अनुसन्धानको लागि सरकारलाई सिफारिस गरेको थियो। दीपेश नक्कली भुटानी शरणार्थी प्रकरण र सहकारी ठगी प्रकरणमा समेत आरोपित छन्, जसले गर्दा उनको आपराधिक सञ्जालको दायरा थप फराकिलो देखिएको छ।

पूर्वउपराष्ट्रपति पुनका ‘वैदेशिक मामिला विज्ञ’ जीवनकुमार गुरुङ पनि १९ मंसिर २०८० मा त्रिभुवन विमानस्थलमा बरामद १४ केजी सुन प्रकरणमा मुछिएका थिए। १४ फागुनमा पक्राउ परेका उनी पछि धरौटीमा छुटेका थिए, तर उनको संलग्नतामाथि प्रश्नचिह्न खडा छ।

यस प्रकरणमा पूर्वसभामुख एवम् माओवादीकै अर्का उपाध्यक्ष कृष्णबहादुर महरा हिजो मात्रै सुन तस्करी प्रकरणमा पक्राउ परेका छन्। दुबईबाट विद्युतीय चुरोट (भेप) मा लुकाएर १० पुस २०७९ मा ल्याइएको करिब ८ करोड ५५ लाख २८ हजार बराबरको करिब ९ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएपछि छुटाउन महरा र उनका छोरा राहुल सक्रिय रूपमा खटिएको खुलेको छ।

त्यति बेला ७३ वटा बाकसमा राखेर ल्याइएको ७३० थान भेप शंकास्पद देखिएपछि विमानस्थल भन्सारले नियन्त्रणमा लिएको थियो। भेप लिएर आएका भरिया ली हसङ तत्कालै फरार भएका थिए। पछि भेप र सुन छुटाउन चिनियाँ तस्कर दावाजिन वाङले महरा बाबुछोराको सहयोग लिएको प्रमाणहरू फेला परेका छन्।

सुन छुटाउन पहल गर्ने क्रममा महरा बाबुछोराले २ सय ५६ पटक फोन सम्पर्क गरेको खुलेको छ। भन्सार गोदामबाटै भेप चोरी भएपछि मात्रै सुन तस्करीको रहस्य बाहिर आएको थियो। यसअघि पनि सोही प्रकरणमा पक्राउ परेका महरामाथि सुक्ष्म अनुसन्धान हुन सकेको थिएन।