‘विपिन जोशीलाई सधैं सम्झिरहनेछु’

‘विपिन जोशीलाई सधैं सम्झिरहनेछु’


ग्लोब नेपाल
486
Shares

काठमाडौं । नेपालका लागि इजरायलका पूर्वराजदूत हानान गोदारले हमास आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीलाई भावुक रूपमा स्मरण गरेका छन् । इजरायल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विपिनसँग भएको भेटको तस्वीर सार्वजनिक गर्दै गोदारले जोशीलाई ‘ऊर्जावान र क्षमतावान’ युवाको संज्ञा दिएका छन् ।

पूर्वराजदूत गोदारले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, ‘दुई वर्षको आशा आज अन्त्य भयो । इजरायल जानुअघि विपिनलाई भेट्ने अवसर प्राप्त भएको थियो ।’ उनले विपिनको व्यक्तित्वको प्रशंसा गर्दै थप लेखेका छन्, ‘उनी ऊर्जावान र क्षमतावान युवा विद्यार्थी थिए जसले आफ्नो परिवार, समुदाय र देशका लागि राम्रो गर्न चाहन्थे ।’

गोदारले विपिनको शान्तिको कामना गर्दै उनी सधैं आफ्नो सम्झनामा रहने बताएका छन् । लर्न एण्ड अर्न कार्यक्रमका लागि इजरायल गएका विपिन जोशी हमास विद्रोहीले इजरायलको किवुत्ज शहरमा गरेको आक्रमणका क्रममा वेपत्ता पारिएका थिए । उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए । लामो समयको प्रतीक्षा र परिवारको अथक प्रयासपछि हमासले गत मंगलबार विपिनको शव इजरायललाई हस्तान्तरण गरेको छ ।