बझाङमा राति १ बजे भूकम्पको धक्का

बझाङमा राति १ बजे भूकम्पको धक्का


ग्लोब नेपाल
81
Shares

काठमाडौं । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा गएराति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १ बजेर ८ मिनेटमा ४.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला रहेको केन्द्रले जनाएको छ । मध्यरातमा एक्कासि आएको भूकम्पको धक्काले स्थानीय बासिन्दामा ठूलो त्रास फैलाएको थियो । निद्रामा रहेका मानिसहरू झस्किएर घरबाहिर निस्किएका थिए । भूकम्पको धक्का बझाङसँगै छिमेकी जिल्लाहरूमा समेत महसुस गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बझाङले भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको जनाएको छ । प्रहरी टोलीले सम्भावित क्षतिको आकलन गर्नका लागि सम्बन्धित क्षेत्रमा जानकारी लिइरहेको बताइएको छ ।

बझाङमा बारम्बार भूकम्पका धक्का महसुस हुँदै आएका छन्, जसले गर्दा यस क्षेत्रका बासिन्दा सधैँ जोखिममा रहँदै आएका छन् । यस घटनाले भूकम्पीय जोखिम न्यूनीकरणका लागि थप सावधानी अपनाउनुपर्ने आवश्यकता औँल्याएको छ ।