मेडागास्करमा जेनजी आन्दोलनपछि सैनिक ‘कू’

मेडागास्करमा जेनजी आन्दोलनपछि सैनिक ‘कू’

देश छाडेका राष्ट्रपति एन्ड्री रजोएलिना भन्छन्: 'अझै पदमा छु'




मेडागास्करमा जेनजी आन्दोलनपछि सेनाले सत्ता नियन्त्रणमा लिएको छ । जेनजी आन्दोलनलाई सेनाको एक विशेष दस्ताले समर्थन जनाएपछि राष्ट्रपति एन्ड्री रजोएलिना देश छाडेर भाग्न बाध्य भएका छन् । उनी कहाँ छन् भन्ने अझै खुल्न सकेको छैन ।

मेडागास्करको राष्ट्रपतिको कार्यालयले मंगलबार एक विशिष्ट सैनिक इकाइले सत्ता कब्जा गरेको भन्दै निन्दा गरेको छ । केही हप्तादेखि सरकारविरुद्ध चलिरहेको प्रदर्शनबीच आएको यो घटनालाई असंवैधानिक भन्दै राष्ट्रपति एन्ड्री रजोएलिनाले आफू अझै पदमा रहेको दाबी गरेका छन् ।

गत केही हप्तादेखि सरकारविरुद्ध प्रदर्शनहरू भइरहेका बेला क्यापसाट नामक विशेष सैनिक समूहले संवैधानिक अदालत, निर्वाचन आयोगसहित प्रमुख लोकतान्त्रिक संस्थाहरूलाई निलम्बनको घोषणा गरेको अन्तराष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ ।

क्यापसाट मेडागास्करको सेनाको एउटा विशेष फौजी इकाइ हो । जसलाई प्रशासनिक र प्राविधिक अधिकृतहरुको समूह मानिन्छ । क्यापसाट प्रमुख कर्णेल मिकाएल रान्द्रियनिरिनाले आफ्नो ‘एलिट युनिट’ क्यापसाटले शासन नियन्त्रण लिएको बताएका छन् । र, नयाँ सरकार गठन गरी निर्वाचन गराएर राजनीतिक निकास खोज्ने बताएका छन् ।

रान्द्रियनिरिनाले पत्रकारहरूसँग भनेका छन्, ‘हामी सरकार बनाउँछौं र राष्ट्रिय सहमति कायम गर्छौं ।’चुनाव हुनेरनहुनेबारे सोधिएको प्रश्नमा कर्णेल रान्द्रियनिरिनाले भने, ‘अवश्य हुन्छ । १८ महिनादेखि दुई वर्षभित्र हामी चुनाव गराउँछौं ।’