देश प्रतिक्रान्तितर्फ धकेलिएको छ, लोकतान्त्रिक विधिबाट रोक्नुपर्छ : ओली

देश प्रतिक्रान्तितर्फ धकेलिएको छ, लोकतान्त्रिक विधिबाट रोक्नुपर्छ : ओली

‘एमाले सधैँ सरकारबाट हट्यो भनेर भ्रममा नपरे हुन्छ’



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश प्रतिक्रान्तितर्फ धकेलिएको बताएका छन् । बुधबार एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई प्रतिक्रान्तितिर जान नदिने एमालेले प्रभावकारी कदम चाल्नुपर्ने बताए ।

उनले भने, ‘देश बर्बादीतर्फ धकेलिएको छ, यस अवस्थालाई हामीले अविलम्ब लोकतान्त्रिक, जनपक्षिय, शान्तिपूर्ण, सुशासन युक्त, भ्रष्टाचारमुक्त र विकासोन्मुख शान्तिपूर्ण बाटोमा फर्काउनुपर्नेछ ।’

उनले एमालेको नीति राम्रो भएर सबैभन्दा धेरै प्रहार भएको जिकिर गरे । एमाले नै कम्युनिस्ट आन्दोलनको मूलधारमा रहेको बताए । ‘हामी प्रहारको बढी निशानामा परेका छौ’, ओलीले भने, ‘किन निशाना परेका छौँ ? हामीले नराम्रा काम र नराम्रा नीति लिएर हो र, होइन । हाम्रा नीतिहरू राम्रा भएर हो ।’

अध्यक्ष ओलीले आफ्नो पार्टी एकछिन सरकारबाट हट्दा सधैँका लागि एमाले सरकारबाट हट्यो भनेर भ्रममा नपर्न चेतावनी दिएका छन् । उनले नेकपा एमालेले सरकारमा रहँदा देश र जनताको हितमा काम गरेको दाबी गरे ।

‘हामी सरकारबाट हट्यौ, कसैलाई मान्छे मन नपर्नु, कसैलाई पार्टी मन नपर्नु बेग्लै कुरा हो’, उनले भने– ‘तर देशका लागि नेकपा एमाले चाहिन्छ । एक छिन हामी सरकारबाट हट्दा सधैँका लागि हट्यो भनेर भ्रममा नपरे हुन्छ ।’

सरकारमा रहँदा कतिपय समयमा आफ्नै पार्टीका नेताहरूबाट समेत सरकारको विरोध गरिएको भन्दै ओलीले सरकारमा आउन नदिने प्रपञ्च संविधान जारी भएदेखि नै हुँदै आएको बताए ।