काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षको लागि थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
बुधबार न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई अहिले नै निर्दोष रहेको भन्न नमिल्ने बताउँदै थुनामा राख्न आदेश दिएको हो ।
‘यी प्रतिवादी अहिले नै आरोपित कसुरमा निर्दोष रहे भएको अवस्थाको विद्यमानता नदेखिई कसुरदार देखिने आधार भएको र उनलाई लागेको अभियोग समेतबाट थप प्रमाणहरू बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा हाल महरालाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्न थुनुवा पुर्जी दिई थुनामा राख्नु भनी स्थानीय कारागार कार्यालयमा पठाइदिने गरी यो थुनछेक आदेश गरी दिएको छ,’ आदेशमा भनिएको छ ।
उनलाई जगन्नाथदेवलस्थित केन्द्रीय कारागारमा पठाइएको छ ।
महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक अरूण पोखरेललाई फोन गरेको, बयान, महराका छोराले गरेको बयान, अरूण पोखरेलले गरेको कागज समेतका आधारमा महरालाई अहिले नै कसुरदार होइन भन्न नमिल्ने उल्लेख गरेको छ ।
उनलाई ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी कैद सजाय माग गरिएको थियो ।


प्रतिक्रिया