काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्नेछ ।
बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक सुरू भएको थियो । दोस्रो दिनको बैठक शुक्रबार बिहान ११ बजेदेखि सुरू हुनेछ ।
आजको बैठकमा विभिन्न एजेन्डाहरूमा आधारित रहेर केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतमा बिहीबार बसेको बैठकमा खड्का, महामन्त्री गगन थापासहित केही नेताहरूले धारणा राखेका थिए ।
बैठकमा नेता शेखर कोइराला, मोहन बस्नेत, देवेन्द्रराज कँडेल, शिव हुमागाईं, राजीव कोइराला, गुरू बराल र नृपबहादुर वडले धारणा राखेका थिए ।
कांग्रेस बैठकमा अधिकांश नेताहरूले नियमित महाधिवेशनका पक्षमा बोलेका छन् । मंसिरभित्रै नियमित महाधिवेशन गर्न नसके विशेष महाधिवेशनमा जानुपर्ने केही नेताहरूको धारणा छ ।
कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशन मंसिरभित्रै गर्न सके विशेष महाधिवेशन माग गर्नेहरूको माग पनि सम्बोधन हुने कुरा राखेका थिए ।


प्रतिक्रिया