१४ वटा वाणिज्य बैंकको ब्याजदर फेरि घट्यो

१४ वटा वाणिज्य बैंकको ब्याजदर फेरि घट्यो



काठमाडौं । वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक विवरण अनुसार बैंकहरूको अधिकतम औसत ब्याजदर असोज महिनाको तुलनामा घटेको छ । व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर शून्य दशमलव २६ प्रतिशत विन्दु घटेको हो ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १४ वटाले ब्याजदर घटाउँदा औसत ब्याजदर घट्न पुगेको हो । ६ वटा वाणिज्य बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा असोज महिनाकै दरलाई निरन्तरता दिएका छन् । बैंकहरूले संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर शून्य दशमलव २२ प्रतिशत विन्दुले घटाएका छन् ।

कात्तिक महिनाका लागि सबैभन्दा धेरै ब्याजदर घटाउने बैंकमा माछापुच्छ्रे बैंक र एनएमबी बैंक रहेका छन् । २ वटा बैंकले व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर एक प्रतिशत विन्दुले घटाएका हुन् ।

नेपाल बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, ग्लोबल आईएमई बैंक र हिमालयन बैंकले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।