निषेधको राजनीतिले कार्यकर्ताहरूमा निराशा छायो : भगवती चौधरी

निषेधको राजनीतिले कार्यकर्ताहरूमा निराशा छायो : भगवती चौधरी



काठमाडौं । नेकपा (एमाले)की केन्द्रीय सदस्य भगवती चौधरीले नेतृत्वले निषेधको राजनीति गर्दा इमान्दार र कर्मठ नेता कार्यकर्ताहरूमा निराशा छाएको बताएकी छन् ।

ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा शुक्रबार भनिन्, “नेतृत्वमा जिम्मेवारी पाएकाहरूले आफ्नो मात्र हालीमुहालीको डन्डा चलाउनाले पार्टीभित्र चरम गुनासो बढेकाले यसलाई जरैदेखि समाप्त पार्नुपर्छ ।”

यसका लागि स्थानीय, क्षेत्रका हरेक तहबाट समावेशीरूपमा प्रतिनिधित्व गराउनुपर्ने उनले धारणा राखिन् । जेनजी आन्दोलन ताका भएको क्षतिमा संलग्नको प्रहरी प्रशासनिक निकायले किटानी जाहेरी लिन नमानेको उनले बताएकी छन् ।

“मेरो निर्वाचन क्षेत्र, सुनसरीमा मैले स्वरोजगार, उद्यमशीलता, आत्मनिर्भरता बढाउन फरवार्ड सुपरमार्केट सञ्चालन गरेका थियौँ । जेनजी आन्दोलनको नाममा सुपरमार्केट लुटियो, तोडफोड भयो । एकाध घन्टामा चार करोड भन्दा बढीको क्षति भयो । सुरक्षा निकायलाई पटकपटक सुरक्षा दिन माग गर्दा कसैले सुनेनन् । लुटपाटमा संलग्नलाई कानुनी कारबाही गर्न पर्याप्त प्रमाणहरू पेस गर्दा पनि प्रहरी प्रशासनिक निकायहरू किटानी जाहेरी लिएका छैनन्, माथिको आदेश पछि जाहेरी लिउँला भन्नुको तात्पर्य के हो ?”