अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच तेस्रोपटक भेटवार्ता

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच तेस्रोपटक भेटवार्ता



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसबीचको द्वन्द्व अन्त्य हुने आशा व्यक्त गरेका छन् ।

हिजो युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ह्वाइट हाउसमा भएको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै उनले रुस युक्रेन युद्ध चाँडै समाप्त हुने सङ्केत गरेकाे अल जजिराले जनाएको छ । यसका लागि दुवैपक्ष लचिलो हुनुपर्ने राष्ट्रपति ट्रम्पको भनाइ छ ।

राष्ट्रपति ट्रम्पले आउँदो हप्ता हङ्गेरीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटका क्रममा जेलेन्स्कीसँग पनि सम्पर्कमा रहने समेत जानकारी गराए । तर उनले जेलेनस्की र पुटिनबीच प्रत्यक्ष वार्ता हुने सम्भावना भने नरहेको बताएका छन् ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि युद्ध अन्त्य हुनेमा आशा व्यक्त गरे । उनले रुसको युद्धमा भएको क्षति बारे व्याख्या गर्दै गाजामा ट्रम्पले गराएको युद्धविरामलाई सकारात्मक सङ्केतको रूपमा उल्लेख गर्नुभएको खबरमा उल्लेख छ ।

जेलेन्स्कीको यो भेट ट्रम्पको दोस्रो कार्यकाल शुरु भएपछिको तेस्रो पटक हो । पहिलो भेटमा ट्रम्पले जेलेन्स्कीलाई कमजोर नेता भन्दै अपमान गर्नुभएको थियो । युक्रेनले अमेरिकासँग टोमहक मिसाइलको माग गरेको थियो, तर ट्रम्पले यो मिसाइल शक्तिशाली भए पनि खतरनाक हुन सक्ने भन्दै यो युक्रेनलाई दिने नदिने बारे औपचारिक घोषणा गरेनन् ।

टोमहक शक्तिशाली हतियार भएकोले यसले ठूलो क्षति निम्त्याउन सक्ने ट्रम्पको भनाइ छ । केहीदिन अघि अमेरिकी राष्ट्रपति ट्रम्पले रुसका राष्ट्रपति पुटिनसँग फोनमा कुराकानी गर्दै हङ्गेरीमा आउँदो वार्ताका लागि तयारी भएको जानकारी गराएका थिए ।