काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार आगजनी, तोडफोड र लुटमारको जगमा बनेको बताएका छन् ।
शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित भेटघाट तथा चियापान कार्यक्रममा उनले वर्तमान सरकारलाई संविधानले नचिनेको बताए । उनले ‘जनताको अभिमतबाट बनेको प्रतिनिधिसभा भंग गर्ने अधिकार सरकारलाई कसले दियो ?’ भनेर प्रश्न समेत गरे ।
ओलीले भने, ‘अहिलेको सरकार आगजनी, तोडफोड, लुटमारको एउटा भयावह स्थितिबाट जन्मिएको, संविधान र कानुनले कतै नचिनेको असंवैधानिक सरकार हो । फेरि सरकारलाई झोक पो चल्ला कि ! यो असंवैधानिक सरकार हो । कुन संविधानानुसार बनेको छ ? अनि, आवश्यकताको सिद्धान्त ? लोकतान्त्रिक प्रणाली मान्नुहुन्छ कि हुन्न ? मान्दिनँ भन्नुहुन्छ । के मान्नुहुन्छ त ? संविधान मान्नु हुन्न भने के मान्नुहुन्छ ? अब संसद् सार्वभौमसत्तासम्पन्न जनताले संविधानानुसार निर्वाचन आयोगले तोकेअनुसार, निर्वाचन आयोगले दबाबमा होइन, कानुनसम्मत आवधिक ढंगले तोकिएको निर्वाचनबाट कानुनी सबै प्रक्रिया पूरा गरेर जनताको अभिमतबाट आएको जनप्रतिनिधिहरूको सर्वोच्च संस्था संसद् विघटन गर्ने अधिकार कसले दियो, कहाँबाट पायो ?’
उनले भदौ २३ र २४ गतेको आन्दोलनलाई प्रतिक्रान्तिको संज्ञा दिए । त्यसले मुलुकलाई प्रतिगमनतर्फ धकेलेको उनले टिप्पणी गरे ।
अध्यक्ष ओलीले सरकारले प्रतिशोध साध्ने खालको व्यवहार प्रदर्शन गरिरहेको समेत आरोप लगाए । उनले थपे, ‘क्रान्तिबाट बनेको सरकार ? कहाँ भयो क्रान्ति ? प्रतिक्रान्ति हो यो । यसले देशलाई पछाडि धकेलेको छ । शान्तिबाट हिंसा र अराजकतामा मुलुकलाई धकेलिएको छ । कानुनीराजबाट आवेश, उत्तेजना र प्रतिशोधमा परिणत गर्ने गरी प्रतिगमन भएको छ ।’


प्रतिक्रिया