लुटिएका हतियार र भागेका कैदी प्रयोग गर्दैनाैँ भनेर दलहरूको प्रतिबद्धता चाहिन्छ : गृहमन्त्री

लुटिएका हतियार र भागेका कैदी प्रयोग गर्दैनाैँ भनेर दलहरूको प्रतिबद्धता चाहिन्छ : गृहमन्त्री



काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी आन्दोलनका क्रममा लुटिएका करिब ४ सय हतियार अझै नभेटिएको बताएका छन् । आइतवार सँचारकर्मीसँग कुरा गर्दै अर्यालले जेन–जी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट खोसिएकामध्ये ४ सय हतियार फेला नपरेको बताएका हुन् ।

अर्यालले ती हतियार असंगठित रूपमा लुकिछिपी रहेको भन्ने सूचना आएको भन्दै सुरक्षाकर्मीले चाँडै फिर्ता लिने बताए । उनले चुनावी वातावरण बनाउन ती हतियार फिर्ता आवश्यक रहेको भन्दै भागेका कैदीबन्दी पनि चाँडै सम्पर्कमा आउने विश्वास व्यक्त गरे ।

अर्यालले हतियारसहित कैदीबन्दी ल्याउन विशेष कार्यक्रम ल्याउन लागिएको जानकारीसमेत दिए । ‘ती हतियारलाई कुनै पनि राजनीतिक दल र समूहले सरकार विरोधी गतिविधिमा प्रयोग नगरिने प्रतिबद्धता व्यक्त गर्नुपर्छ,’ अर्यालले भने, ‘साथै भागेको कैदीबन्दीलाई समेत सरकार विरोधी र व्यवस्था विरोधी गतिविधिमा प्रयोग गर्दैनाैँ भन्ने दलहरूको प्रतिबद्धता आवश्यक छ ।’

उनले सबै सुरक्षा निकायको संलग्नतामा ज्वाइन्ट पेट्रोलिङ भइरहेको भन्दै नागरिकलाई सुरक्षाको वातावरण बनाएर चुनाव सम्पन्न गराइने प्रतिबद्धता व्यक्त गरे ।