काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी ओलीले शेरबहादुर देउवामाथि कुटपिट गर्नेलाई प्रश्न गरेका छन् । आइतबार सम्पादकहरूसँगको छलफलमा उनले आफू प्रधानमन्त्री रहेका बेला देउवामाथि कुटपिट गर्नुको औचित्यबारे प्रश्न गरेका हुन् ।
“म प्रधानमन्त्री थिएँ, शेरबहादुर देउवा किन कुटिनुभयो ? ८० वर्षको मान्छे कुटिनु शोभनीय कुरा हो ?,” ओलीले भने, “त्यत्रो उमेरको व्यक्तिमाथि खुकुरी प्रहार गर्नेहरू यही समाजको सभ्यता सिकेकाहरू हुन् ?”
उनले देउवाले कार्यवाहक दिएको विषय जोडेर आफूमाथि प्रश्न गर्नेहरूलाई पनि प्रतिप्रश्न गरे ।
“शेरबहादुर देउवाले कार्यवाहक दिनुभयो । उहाँ उपचारका लागि जानुभयो त कार्यवाहक दिनुहुन्न ? म कहीँ जाने भए भने नदिएर जान्छु होला ?,” ओलीले प्रतिप्रश्न गरे, “म यहाँ पाँच फिटसम्मका पोथ्रा नाघेर हिँड्छु, यहीँ छु भने किन दिने कार्यवाहक ?”
पूर्वप्रधानमन्त्री ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस नगरेको बताएका छन् । उनले सेनाको सुरक्षामा रहँदा राष्ट्रपतिलाई निकासका लागि आवश्यक कदम चाल्न भने सिफारिस गरेको स्वीकारोक्ति गरे ।
ओलीले आफूले लेखेको सिफारिसको भाषा सुनाउँदै उनले त्यसमा कतै पनि सुशीलाको नाम नभएको बताए । उनले माओवादी अध्यक्ष प्रचण्डलाई सुशीलालाई आफूले सिफारिस गरेको प्रमाणा देखाउन चुनौति दिए ।
उनले भने, ‘मैले लेखेकाे भाषामा सुशीला कार्की कतै सुन्नुभयो ? यसमा सुशीला कार्की भन्ने वा अरु कोही भन्ने कुनै छैन । मैले लेखेको पत्र राष्ट्रपतिकोमा छ त । मसँग चाहिँ छैन । कुनै बेला निस्किएला नि ।’
ओलीले सुशीलाको सरकार संवैधानिक नभएको दोहोर्याए । उनले भने, ‘यो अन्तरिम सरकार संविधान अन्तरगत बनेको होइन । एउटा हल्ला छ । अस्ति प्रचण्डजीले भयानक झूट बोल्नुभो । केपी जीले सुशीलालाई सिफारिस गरेको मसित कागज छ, प्रमाण छ भन्नुभो । राष्ट्रपतिले कसैको सिफारिसबिना काम गर्न गाह्रो हुन्छ, मलाई उपयुक्त निकास निकाल्नका लागि सिफारिस गर्नुस भन्नुभयो । मैले हुन्छ भनेँ । राष्ट्रपतिले आधिकारिक व्यक्तिको सिफारिसबिना केही गर्नु वाञ्छनीय हुँदैन र उहाँ कार्यकारी होइन । संविधान अनुसार हातमा लिनु हुँदैन । तर जटिल अवस्थामा मैले सिफारिस गर्दिनु वाञ्छनीय हुन्छ भन्ने लाग्यो ।’
अध्यक्ष ओलीले हतियार र कैदीबन्दी छाडेर नेताहरूलाई थुनेर कसरी निर्वाचन हुने भनेर प्रश्न गरे । जेनजी आन्दोलनका क्रममा १२ हजार हतियार र एक लाख गोली लुटिएको दाबी गर्दै उनले सुरक्षाको प्रत्याभूतिबारे प्रश्न गरेका हुन् ।
त्यस्तै कैदीबन्दीहरू छाड्ने र नेताहरूलाई थुनेर निर्वाचनको वातावरणबारे प्रश्न गरे । ‘१२ हजार हतियार, एक लाख गोली, १३-१४ हजार कैदी जेलबाट भगाएर, अनि नेताहरूलाई थुन्न खोजेर कसरी हुन्छ निर्वाचन?,’ उनले प्रश्न गरेका छन् ।


प्रतिक्रिया