तिहारमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने

तिहारमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने



काठमाडौं । तिहार पर्वको बिदामा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालनमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले सूचनामार्फत् आज सोमवार, भोलि मङ्गलवार, पर्सि बुधवार र आउँदो शुक्रवार ७ गते सार्वजनिक बिदाका दिनमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने जनाएको हो ।

यो प्रणाली बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालनमा रहने नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जनाएको छ । भाइटीकाको दिन बिहीवार भने प्रणाली बन्द हुनेछ ।

केन्द्रीय बैंकले यसअघि नै भन्सार जाँचपास गर्ने प्रयोजनका लागि आवश्यक बैंकिङ प्रणाली सञ्चालनमा ल्याउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ ।

तिहारको भाइटीकाको दिन बाहेक अरू सबै दिन भन्सार जाँचपासका गर्न आवश्यक पर्ने बैंकिङ सेवा सञ्चालन गर्ने व्यवस्था गर्न/गराउन क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन भएको छ ।