काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीका सम्बन्धमा आज दिउँसो राजनीतिक दलहरूसँग गर्न लागेको छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीलाई पठाउने भएको छ ।
दिउँसो चार बजे बालुवाटारमा हुने यस छलफलमा एमालेले संसद् पुनर्स्थापनाको आफ्नो अडानलाई सशक्त रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तोके पनि एमालेले भने मुलुकमा निर्वाचनको वातावरण नभएको भन्दै विघटित संसद् नै पुनर्स्थापना हुनुपर्ने अडान राख्दै आएको छ । एमालेको हालै सम्पन्न केन्द्रीय समिति बैठकले पनि संसद् पुनर्स्थापनाको पक्षमा अभियान चलाउने निर्णय गरेको थियो ।
प्रधानमन्त्री कार्कीले विघटित संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त सात दलका २-२ जना प्रतिनिधिलाई छलफलका लागि बोलाएकी छिन् । यस बैठकलाई निर्वाचनको सन्दर्भमा राजनीतिक सहमति जुटाउने प्रयासका रूपमा हेरिएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएअनुसार, प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा हाम्रो पार्टीबाट महासचिव पोखरेल र उपमहासचिव ज्ञवाली सहभागी हुने तय भएको छ । उहाँहरूले बैठकमा पार्टीको स्पष्ट धारणा राख्नुहुनेछ ।’
छलफलले आगामी राजनीतिक दिशा तय गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । एकातिर सरकार निर्वाचनको तयारीमा जुटिरहेको छ भने अर्कोतिर एमालेसहित केही दलहरू संसद् पुनर्स्थापनाको पक्षमा उभिएका छन् ।


प्रतिक्रिया