भयरहित वातावरणमा चुनाव गराउने दलहरूसँग प्रधानमन्त्रीको प्रतिबद्धता

भयरहित वातावरणमा चुनाव गराउने दलहरूसँग प्रधानमन्त्रीको प्रतिबद्धता



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव सम्पन्न गराउने सरकारको दृढ प्रतिबद्धता जनाएकी छन् ।

बालुवाटारमा मंगलबार आयोजित राजनीतिक दलहरूसँगको संवाद कार्यक्रममा उनले सरकार, मन्त्रीहरू र सुरक्षा निकाय सबै अहोरात्र खटिएको बताइन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, “सरकार तोकिएकै समयमा चुनाव गराउन कटिबद्ध छ । त्यसका लागि हामी सबै जिम्मेवारीका साथ लागिरहेका छौँ । मन्त्रीज्यूहरू, सुरक्षा निकाय र सम्बन्धित निकायहरू समन्वयमा काम गरिरहेका छन् ।”

दलहरूसँग संवादमा ढिलाइ हुनुको कारणबारे प्रधानमन्त्रीले स्पष्ट पार्दै भनिन्, “यसबीचमा घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भयो । त्यसमा समय लाग्यो । सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै रुचाएका थिएनन् । अहिले राष्ट्रपतिज्यूले संवादको ढोका खोलिदिनु भएको छ । अब सबै दल र जेनजी प्रतिनिधिहरू बसौँ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ ।”

उनले थप गरिन्, “चुनाव सफल बनाउन सबैले आ–आफ्नो तर्फबाट भूमिका खेलौँ । यहाँहरूले व्यक्त गर्नुभएका चासो र चिन्तालाई सम्बोधन गर्न सरकार तयार छ ।”

बैठकपछि सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा प्रधानमन्त्री कार्कीले भनेकी छन्, “आगामी निर्वाचनको वातावरण बनाउने प्रयासस्वरूप दलहरूसँग सौहार्दपूर्ण संवाद सम्पन्न भएको छ । निर्वाचनको आवश्यकतामा कसैको विमति छैन । सबै पक्षका चासो र चिन्ता सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सरकार कटिबद्ध छ । आ–आफ्नो ठाउँबाट निर्वाचनमा जुटौँ ।”

कार्यक्रमको प्रारम्भमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले स्वागत मन्तव्य राख्दै संवादको उद्देश्य र विषयवस्तुमा प्रकाश पारेका थिए । त्यसपछि सबै दलका प्रतिनिधिहरूले पालैपालो आफ्नो धारणा राखेका थिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, संवादमा सहभागी सबै नेताहरूले निर्वाचनमा केन्द्रित भएर धारणा राखेका छन् । चुनावमा जाने विषयमा सबै दलबीच सहमति देखिएको छ । सरकारलाई सुरक्षाको वातावरण सुनिश्चित गर्नुपर्ने चासो दलहरूले राखेका छन् । एमालेले पनि सरकार चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरे पनि चुनावको विरोध भने गरेको छैन ।

संवादमा सहभागी भएर धारणा राख्ने नेताहरूमा शंकर पोखरेल, पम्फा भुसाल, प्रेम सुवाल, राजेन्द्र गुरुङ, गगन थापा, स्वर्णिम वाग्ले, रेशम चौधरी, चन्दन सिंह, राजेन्द्र पाण्डे, उपेन्द्र यादव र सर्वेन्द्रनाथ शुक्ललगायत छन् । दोस्रो चरणमा प्रकाशशरण महत, प्रदीप ज्ञवाली र वर्षमान पुनले आफ्नो धारणा राखेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधन सकिएपछि गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो मन्तव्य राखेका थिए । सरकार र राजनीतिक दलबीचको यो संवाद अन्तरिक सरकार गठन भएपछिको पहिलो हो ।